दोस्रो मन्थली ‘नगर कप’को उपाधिको लागि मन्थली–१ र ७–भटौली प्रतिस्पर्धा गर्दै

| माघ २६, २०८० शुक्रबार

A A A
A A A

२६ माघ, रामेछाप । दोस्रो ‘मन्थली नगर कप’ भलिबलको उपाधिको लागि भोलि शनिवार मन्थली–१ र ७ नं भटौली प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रवार भएको सेमिफाइनल खेलमा मन्थली–१ ले वडा नं ८ चिसापानीलाई र वडा नं ७ भटौलीले वडा नं ४ सालुलाई हराउँदै फाइनलमा स्थान पक्का गरेका हुन् । 

 

पहिलो ‘नगर कप’ विजेता समेत रहेको मन्थली–१ लगातार खेल जितेर शिल्ड आफ्नो बनाउन बलियो दाबी प्रस्तुत गर्ने दाउमा छ । भने, ७ नं भटौली पहिलो पटक उपाधि जितै इतिहास रच्ने योजना सहित मैदान उत्रिँदै छ । 

 

गएको बुधवारदेखि मन्थली नगर खेलकुद विकास समितिको आयोजना र मन्थली नगरपालिकाको सह–आयोजनामा सुरु भएको दोस्रो ‘नगर कप’ को तेस्रो र चौथो स्थानको लागि ८ नं चिसापानी र ४ नं सालु प्रतिस्पर्धा गर्दै छन् । यो पटक १४ वटै वडाको सहभागिता रहेको नगर कप भलिबल प्रतियोगितामा १,७,४ र ८ बाहेक सबै वडा बाहिरी सकेका हुन् । 

 

मन्थली नगरका खेलकुद प्रशिक्षक देवेन्द्र श्रेष्ठले रामेछाप टाइम्सलाई दिएको जानकारी अनुसार पहिलो पटक नगरले यसपालि सात विधामा समेत उत्कृष्ट खेलाडीहरूलाई नगद पुरस्कार सहित सम्मान गर्दै छ । जसअनुसार उत्कृष्ट डेफिण्डर, बल्कर, स्पाइकर, सेटर, कोच र सर्वरलाई नगद ३ हजार र ट्रफिसहित सम्मान गर्दै छ । 

त्यस्तै सर्वोत्कृष्ट खेलाडी एक जनाले ५ हजार र ट्रफि जित्ने छ । निकै रोमाञ्चक प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख सहित ‘रनिङ शिल्ड’, ट्रफि, मेडल र प्रमाण पत्र जित्ने छ । गत वर्ष मन्थली–१ ले जितेको थियो । 

 

दोस्रो हुने टिमले नगद ७५ हजार सहित ट्रफि मेडल र प्रमाणपत्र जित्ने  छ । 

 

त्यस्तै तेस्रो र सान्त्वना हुने टिमले क्रमशः नगद ५० हजार, ३० हजार ट्रफि, मेडल र प्रमाण पत्र हासिल गर्ने श्रेष्ठले जानकारी दिए । 

 

नगरले खेलकुदका गतिविधि विभिन्न अगाडि बढाएको उल्लेख गर्दै नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीले खेलाडीहरूलाई प्रोत्साहन गर्न व्यक्तिगत विधामा सम्मान गर्न लागेको बताए । 

२०७९ सालमा लव श्रेष्ठ र ईश्वरी बस्नेत सहितको टोली निर्वाचित भएर आएपछि २०७४ सालमा निर्वाचित भएर आएका रमेश कुमार बस्नेत र मायाँ कुमारी कार्कीको तत्कालीन कार्यपालिकाको टिमले गरेको ‘मेयर कप’लाई परिवर्तन गर्दै ‘नगर कप’ बनाएको छ । यो निर्णयको तत्कालीन मेयर रमेश कुमार बस्नेतले चर्को आलोचना गर्दै आपत्ति समेत जनाउँदै आएका छन् । विगतमा ‘मेयर कप’ तेस्रो खेल सम्पन्न भइसकेको थियो । तर, अहिले ‘नगर कप’ दोस्रो हुँदै छ । 

 

विगतको इतिहास मेटिने र इतिहासको सम्मान नभएको जिकिर गर्दै बस्नेतले नगरको निर्णयको आलोचनासहित आपत्ति जनाउँदै आएका हुन् । उनले जनप्रतिनिधि फेरिँदै पिछे नयाँ निर्णय लागू गर्दा इतिहास मेटिँदै जाने बताउँदै आएका छन् । नगरले भने व्यक्तिको नाम जस्तो भन्दा सिङ्गो नगरको प्रतिनिधित्व गर्ने काम राखेर खेलका गतिविधि अगाडि बढाइएको बताएको छ । 

 

तस्बिर स्रोतः मन्थली डेल्ली