जिल्लावासीको मन जित्दै मन्थली अस्पतालले मनायो तेस्रो वार्षिक उत्सवः ५० शैय्याको अस्पताल बन्नु पर्नेमा सबैको एकमत (भिडिओ)

| माघ २७, २०८० शनिबार

A A A
A A A

२७ माघ, रामेछाप । केही वर्ष पहिले सम्म ‘प्राथमिक स्वास्थ्य केन्द्र’को रूपमा परिचित मन्थली अस्पतालको तेस्रो वार्षिक उत्सव भव्यताको साथ मनाइएको छ । मन्थली नगरपालिकाद्वारा सञ्चालित १५ शैय्याको यो अस्पतालले पछिल्लो समय जिल्लावासी सहित दोलखा, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाका बिरामीहरूलाई समेत सफल उपचार गर्दै आएको छ । ३/४ जिल्लाका बिरामीहरूको समेत सफल उपचार गर्न सक्षम यो अस्पताललाई चाँडै नै ५० शैय्याको अस्पतालको रूपमा स्तर उन्नति गरी जिल्लाकै सुविधा सम्पन्न अस्पताल बनाउनु पर्नेमा सरोकारवालाहरूले एकमत देखाएका छन् । 

 

जिल्लाकै राजधानी मन्थलीमा अवस्थित तल्लो तहको सरकारद्वारा सञ्चालित अस्पताल पछिल्लो समयमा सुविधा सम्पन्न बन्ने बाटोमा अग्रसर छ । आफ्नो सेवालाई विस्तार गर्दै जुनसुकै रोगको उपचार सुलभ मूल्यमा छिटो छरितो प्रदान गरेर जिल्ला भित्र र बाहिरका समेत वृद्धवृद्धा, महिला, बालबालिका, विपन्न परिवार, विपत्तिमा परेका, दीर्घ रोगीहरू र जिल्ला बाहिर धाएर महँगो मूल्य तिरेर उपचार गर्दै आएका पीडितहरूलाई त्यो समस्याबाट मुक्त गर्नू आफूहरूको प्रमुख उद्देश्य रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन (एम.बि.बिएस्) डा.समीर क्षेत्रीले प्रस्ट्याए । 

 

डा. क्षेत्रीले केही वर्षको यो अवधिमा समिति स्रोत र साधनका बिच गरेका महत्त्वपूर्ण उपलब्धिहरू सार्वजनिक गर्दै अस्पतालमाथि नागरिकको भरोसा उल्लेख्य बढेको तर भौतिक र आर्थिक पक्षमा थप सुधार आवश्यक रहेको बताएका हुन् । 

गाउँ-गाउँमा सिंहदरबारको अधिकार पुर्‍याएको अनुभूति गराउन पनि अस्पतालबाट सेवा गुणस्तरीय र प्रविधि मैत्री बनाउने नगरको योजना रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केश्वव फुयाँलले प्रस्ट पारे । हाल सम्म अस्पतालले प्रदान गर्दै आएका विभिन्न सेवा सुविधा बारेमा जानकारी गराउँदै आगामी दिनमा अस्पतालबाट यहाँका बिरामी धुलिखेल-काठमाडौँ धाउन नपर्ने गरी मन्थली अस्पताललाई सुविधा सम्पन्न बनाउन जुटेको उनको भनाई छ । यसमा सबैको साथ र सहकार्य आवश्यक रहेको स्वास्थ्य शाखा प्रमुख फुयाँलले प्रस्ट पारे । 

 

फुयाँलले रामेछाप डाँडामा रहेको जिल्ला अस्पताल रामेछापमा प्राविधिक र भौतिक रूपमा प्रदेश सरकारको सहयोग समन्वयमा सम्पन्न बन्दै जानु तर, बिरामीको संख्यामा कम हुनु दुः खत पक्ष रहेको उल्लेख गर्दै मन्थली अस्पताललाई पनि त्यो खालको सेवा सुविधा सरोकारवालाबाट प्रदान हुनु पर्नेमा जोड् दिए । ‘यसलाई पनि ५० बेडको अस्पतालको रूपमा चाँडै नै स्तर उन्नति गर्न सबैको साथ चाहिन्छ ।’

 

 

मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठको अध्यक्षतामा भएको तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं संघीय सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले मन्थली अस्पताललाई सुविधा सम्पन्न बनाउन यहाँका सबै तहका जनप्रतिनिधि, राजनीतिक दल लाग्नु पर्नेमा जोड् दिँदै आफूले गर्नु पर्ने सबै जिम्मेवारीको लागि तत्पर रहेको प्रतिबद्धता जनाए । 

 

नेपाली काँग्रेस रामेछापका सभापति समेत रहेका सांसद तामाङले जिल्ला अस्पतालको विकास भइरहेको सन्दर्भमा मन्थली अस्पताललाई यहाँका समयको आवश्यकता र जनचाहना अनरुप विस्तार गर्नु पर्नेमा जोड् दिए । मन्थली अस्पतालको विकासको लागि नगरको बजेटले मात्रै नपुग्ने प्रस्ट्याउँदै प्रदेश र संघ सरकारसँग बजेट माग गर्नु पर्नेमा धारणा राखे । 

जिल्लाको आधा भन्दा बढी जनताको सहज पहुँचमा रहेको मन्थली अस्पताललाई समय अनुकूल विकास गर्दै भौतिक, मानवीय र प्राविधिक रूपमा सम्पन्न बनाउँदै लानु पर्नेमा सरोकारवालाहरूले जोड् दिएका हुन् । 

 

हाल निर्माणाधीन रहेको अस्पतालको भवनमा भएको एक भव्य कार्यक्रममा बागमती प्रदेशका सांसदत्रय तारानारायण श्रेष्ठ, युवराज चौलागाई, आनन्द कुमार श्रेष्ठ र जिल्ला समन्वय समिति प्रमुख चिना खड्कासहितले अस्पतालको चौतर्फी विकासको लागि गर्नु पर्ने काम र आगामी योजनाको बारेमा सुझाएका थिए । उनीहरूले जिल्लावासीको पहुँचको अस्पतालको रूपमा यो अस्पताल विकसित हुँदै गएकाले सबैले आ-आफ्नो ठाउँबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।  मन्थली अस्पताललाई चाँडै ५० शैय्याको अस्पताल बनाउन पहल गर्नु आफूहरूको दायित्व भएको उनीहरूको धारणा थियो ।

 

त्यस्तै नगरपालिकाका निवर्तमान नगर प्रमुख एवं अस्पतालका निवर्तमान व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नेता रमेश कुमार बस्नेतले अस्पतालको विगत देखि हाल सम्मको स्थिति बारे उल्लेख गर्दै आगामी दिनमा नागरिकहरूको भरोसा जित्ने अस्पतालको रूपमा विकसित गर्न सक्नु पर्नेमा जोड् दिए । त्यसको लागि नगरपालिकाले सबै पहल गर्न उनले नगरको नेतृत्वलाई सुझाए । 

 

अस्पतालले तेस्रो वार्षिक उत्सवको अवसरमा विभिन्न खेलकुद समेत आयोजना सम्पन्न गरेको छ । साथै विजेताहरुलाई नगद सहित पुरस्कृत पनि गरेको छ ।