गोकुलगंगा गाउँपालिका : वडा–वडामा गरिएको आँखा शिविरमा ५४५ जनाले परीक्षण गरे, २२ जनामा मोतिया बिन्दु

| फागुन १३, २०८० आइतबार

A A A
A A A

१३ फागुन, रामेछाप । गोकुलगंगा गाउँपालिकाले वडा–वडामा पुगेर गरेको आँखा शिविरमा पाँच सय भन्दा बढीले सेवा लिएका छन् । पालिका बासीको स्वास्थ्यलाई विशेष प्राथमिकता दिएर पाँच वटा वडामै पुगेर उनीहरूको आँखा जाँच गरेको यो पालिकाले २२ जना मोतिया बिन्दु भएका आँखाका रोगीहरूको निःशुल्क अप्रेसन समेत गरिदिने भएको छ । 

 

गत हप्ता गाउँपालिकाले वडा नं १ चुचुरे देखि वडा नं ५ नामाडी सम्म सम्पन्न गरेको आँखा शिविरमा पाँच सय ४५ जनाले परीक्षण गरेको ती मध्येमा २२ जनाको आँखामा मोतिया बिन्दु देखा परेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागिर रायले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

‘परीक्षण गरेका मध्ये २२ जनाको आँखामा मोतिया बिन्दु देखियो उनीहरू सबैको १६ गते देखि उमाकुण्ड गाउँपालिकाको वडा नं २ बाम्तिभण्डारमा हुने शिविरमा सबै खर्च (आउने जाने भाडा, खाना, खाजा खर्च सहित) निःशुल्क पालिकाले गरेर अप्रेसन गर्दैछौं’ स्वास्थ्य प्रमुख रायले प्रष्ट पार्दै भने । 

वृद्धवृद्धा, महिला, बालबालिका सबैमा मोतिया विन्दुको समस्या देखिएको बताउँदै वडा तहमै पुगेर गरिएको शिविर उनीहरूको लागि कोशे ढुङ्गा साबित भएको पालिकाले दाबी गरेको छ । 

 

गोकुलगंगा गाउँपालिकाको आयोजना र तीलङ्गा आँखा केन्द्रको प्राविधिक सहयोगमा भएको शिविर वडा बासीको आँखाको ज्योतिको लागि निकै महत्त्वपूर्ण भएको बताउँदै आगामी दिनमा वडा तहमा थप स्वास्थ्य सम्बन्धि कार्यक्रम गर्ने योजना समेत रहेको रायले जानकारी दिए । 

 

तील गंगा आँखा केन्द्रले पछिल्लो समय जिल्लाका स्थानीय तहहरूसँगको समन्वय र सहकार्यमा पालिका–पालिकामा कार्यक्रम गर्न गरिरहेको छ । 

 

उमाकुण्ड गाउँपालिकाको सहकार्यमा गुम्देल, बाम्ती, कुँबुँकाँस्थलीका स्थानीयहरूलाई लक्षित गरेर यही फागुनको १६ गते देखि १८ गते सम्म बाम्तीभण्डारमा शिविर गर्दै छ । भने, १८ गते देखि दुई दिन जिल्ला सदरमुकाम मन्थली स्थित तामाकोशी अस्पताल मन्थलीमा समेत आँखा शिविर हुँदै छ ।