आज माझी समुदायको लदी पूजाः खाँडादेवीमा आंशिक बिदा, मन्थली नगरका निजी विद्यालयमा बिदा, सरकारीमा छैन

| फागुन १५, २०८० मंगलबार

तस्बिर तामाकोशी नदी किनारमा लदी पूजा गर्दै माझी समुदाय । स्रोत बालकृष्ण माझी
A A A
A A A

१५ फागुन, रामेछाप । माझी समुदायको महान् पर्व लदी पूजा एवं कोशी पूजाको अवसरमा आज खाँडादेवी गाउँपालिकाले आंशिक बिदा दिएको छ । मन्थली नगरपालिका भित्र संचालित संस्थागत (बोर्डिङ) विद्यालयले पनि पूर्ण रूपमा विद्यालयमा बिदा दिएका छन् । 

 

खाँडादेवी गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै पालिकाका माझी समुदायका शिक्षक, विद्यार्थी सहित कर्मचारी सबैलाई एक दिन बिदा दिएको पालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले पत्र जारी गर्दै जानकारी दिएका हुन् । 

 

निजी विद्यालयहरूको संगठन (व्याब्सन) रामेछापले पनि सोमबार मन्थली नगर भित्र संचालित निजी विद्यालयहरू बन्द गर्ने निर्णय गर्दै मङ्गलवार बिदा दिएको हो । तर मन्थली नगरकै सबै भन्दा धेरै विद्यार्थी भएको सरकारी तर्फको मन्थली माविले बिदा दिएको छैन । 

 

मङ्गलवार देशका विभिन्न जिल्लाका कोशी किनार आसपास आदिम कालदेखि बसोबास गर्दै आएका आदिवासी जनजाति माझी समुदायले कोशीको पूजा गरेर धूमधाम सहित लदी पूजा गर्दै छन् ।

 

माझी समुदायको बसोबास रहेको मन्थली नगरपालिकाले भने बिदा दिएको छैन । यसको यहाँमा माझी समुदायले विरोध गरेका छन् । माझी समुदायको बसोबास रहेको मन्थली नगरपालिकाले सार्वजनिक बिदा नदिँदा नगरपालिकाले आफूहरूको संस्कार संस्कृतिको सम्मान नगरेको उनीहरूको आरोप छ ।