बाम्तिभण्डारमा दुई दिने मोतिया बिन्दुको शल्यक्रिया : उमाकुण्ड र गोकुलगंगाका ५० जनाको सफल अप्रेसन
१७ फागुन, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्तिभण्डारमा भएको दुई दिने मोतिया बिन्दुको शल्यक्रियामा ५० जना मोतिया बिन्दुका रोगीहरूको सफल अप्रेसन गरिएको छ । गाउँमै निःशुल्क मोतिया बिन्दुको अप्रेसन गरेर आँखाको ज्योति फर्किएपछि उनीहरू हर्षित भएका छन् ।
बुधवार र बिहीबार उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाका वडा-वडाबाट छनोट भएका मोतिया बिन्दुका ५० जना रोगीहरूको अप्रेसन गरिएको शिविर संचालन भएको प्रस्तावित आधारभूत बाम्ती अस्पतालकी प्रमुख निलम कार्कीले रामेछाप टाइम्सलाई बताइन् ।
‘उहाँहरूको निःशुल्क सफल अप्रेसन भएको छ । अब राम्रोसँग आँखा देख्नु हुन्छ’ प्रमुख कार्कीले भनिन् । पालिकाहरुले स्थानीयको स्वास्थ्यलाई विशेष महत्व दिँदै गरिएको यो शिविर पीडितहरुको लागि जीवन दान जस्तै सावित भएको छ ।
यस अगाडि उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाले यही फागुन १ गते देखि ८ गते सम्म वडा वडामा आँखा शिविर संचालन गरेका थिए । सो क्रममा उमाकुण्ड गाउँपालिकामा मात्रै पाँच सय ४५ जना पुरुष र आठ सय चार जना महिला गरी एक हजार तीन सय ४९ जनाको परीक्षण गरिएको थियो ।
शिविरमा छनोट भएका ५० जनाको मोतिया बिन्दुका बिरामीहरूको डा.रोजिता पराजुली सहित ११ जनाको टोलीले सफल अप्रेसन गरेको हो । कार्कीका अनुसार बुधवार २६ जना र बिहीबार २४ जनाको सफल अप्रेसन/शल्यक्रिया गरिएको हो । केही मोतिया बिन्दु भएका बिरामी सोलुखुम्बुको लिखु पिके गाउँपालिकाबाट समेत आएका थिए । उनीहरूको पनि अप्रेसन गरिएको अस्पतालकी प्रमुख कार्कीले प्रष्ट पारिन् ।
उमाकुण्ड गाउँपालिकाको आयोजना र रामेछाप सर्किजल आँखा केन्द्र मन्थली, तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँको सहकार्यमा भएको शल्यक्रिया शिविरमा हिमालयन कनट्र्याक्ट प्रोजेक्टले पनि भूमिका खेलेको छ ।
विपन्न पारिवारिक स्थिति र मोतिया बिन्दुको उपचारको जानकारी कम हुँनु लगायतका कारण रोग पालेर बस्न बाध्य भएका २२ जना पुरुष र २८ जना महिलाहरूको गाउँमै निःशुल्क सफल शल्यक्रिया भएर आँखा देख्न पाएपछि सबै दङ्ग छन् ।
वृद्धवृद्धा, एकल महिला, अशक्त अपाङ्गता भएकाहरू देखि सबै उमेरका आँखाका रोगीहरूलाई उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाले सम्बन्धित निकायसँगको सहकार्यमा गरेको यो शिविरले धेरैले नयाँ जीवनको रूपमा पाएको शिविरमा सहभागी स्वास्थ्यकर्मीहरू बत्ताउँछन् ।
दुई दिने शल्यक्रियाको अवसरमा समेत ३० जनाले आँखाको परीक्षण गराएका छन् । सफल शल्यक्रियाबाट आँखाको ज्योति फर्किएकाहरूले आँखालाई विशेष ध्यान र सुरक्षा गर्न सके राम्रोसँग आँखा देख्ने चिकित्सकहरूको भनाई छ ।
यसरी उमाकुण्डको बाम्तीभण्डारमै आँखा मोतिया बिन्दुको अप्रेसन भएको सम्भवतः यो पहिलो घटना हो ।