मन्थलीमा संचालित तामाकोशी बोर्डिङका प्रधानाध्यापक खड्का ‘राष्ट्रिय शिक्षा सम्मान’बाट सम्मानित

| बैशाख ३१, २०८१ सोमबार

A A A
A A A

३१ वैशाख, रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा संचालित निजी क्षेत्रको तामाकोशी बोर्डिङ स्कुलका प्रधानाध्यापक दीपक खड्का ‘राष्ट्रिय शिक्षा सम्मान–२०८१’ बाट सम्मानित भएका छन् । उनलाई शिक्षा क्षेत्रबाट विशेष योगदान पुर्याएको बन्दै सम्मान गरिएको हो । 

 

गत शनिवार काठमाडौँ स्थित राष्ट्रिय नाचघर जमलमा फोकस नेपालको एक भव्य समारोहका बिच प्रधानाध्यापक खड्कालाई राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सम्मान पत्रले सम्मान गरेका हुन् । 

 

खड्कालाई प्रदान गरिएको सम्मान पत्रमा ‘विगत लामो समयदेखि अत्यन्त निष्ठा र समर्पणका साथ वरिष्ठ शिक्षासेवी, शैक्षिक अभियन्ता तथा समाजसेवीका रूपमा निरन्तर निष्ठापूर्वक सक्रिय रहँदै आउनुभएको छ । विभिन्न शैक्षिक संघ संस्थाको नेतृत्व गरिसक्नु भएको तपाईँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न शैक्षिक, सेवामूलक तथा सामाजिक संघ संस्था मार्फत राष्ट्र विकास, शैक्षिक क्षेत्रको विकास र सामाजिक सेवामा पुर्‍याउनु भएको योगदान चीरकालसम्म प्रशंसनीय र अतुलनीय रहने छ’, उल्लेख गरिएको छ । 

 

आफूहरूले प्रविधि मैत्री शिक्षालाई पच्छ्याउँदै खेलकुद, हाजिरी जवाफ चित्रकला लगायतका शैक्षिक गतिविधिलाई पनि निरन्तर दिँदा उत्कृष्ट नतिजा ल्याइरहेको प्रअ खड्काले बताए । 

 

पूर्व स्वास्थ्य मन्त्री भवानी खापुङ्सहितको उपस्थितिमा भएको सो कार्यक्रममा देशका विभिन्न कला, साहित्य, कृषि, पशुपालन, पर्यटन, शिक्षा, समाजसेवी आदी क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिहरू सम्मानित भएका थिए । 

 

खड्का वि.स.२०५९ सालमा स्थापित तामाकोशी इङलिस बोर्डिङ स्कुल सञ्चालनमा ल्याएर जिल्लामा शिक्षाको क्षेत्रमा विशेष योगदान पुर्‍याउँदै आएका छन् । 

 

खड्काको नेतृत्वमा संचालित तामाकोशी बोर्डिङ स्कुल प्रथम पटक वि.स.२०६७ मा (एसएलसी) परीक्षामा भाग लिएर उत्कृष्ट नतिजा सहित जिल्लामा अब्बल विद्यालयमा परिचित रहेको छ । त्यस यता निरन्तर सत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै उत्कृष्ट  नतिजा ल्याइरहेको छ । 

 

साथै मन्थली नगरपालिकाले सञ्चालन गरेको शैक्षिक सत्र २०७९ र २०८० मा ४ जी.पी.ए.सहित सत प्रतिशत नतिजा ल्याउन पनि यो विद्यालय सफल भएको छ । भने, आधारभूत तह (कक्षा ८) को परीक्षामा निरन्तर नगर प्रथम हुँदै आएको छ ।