सुनापति गाउँपालिकाको सार्वजनिक सुनुवाइ : ९ कि.मि.सडक कालोपत्रे, वृद्धकन्या भत्ता वितरणदेखि थाङ्का हब बनाउने सम्म (भिडिओसहित)

| बैशाख ३१, २०८१ सोमबार

A A A
A A A

३१ वैशाख,रामेछाप । सुनापति गाउँपालिकाले चालु आर्थिक वर्षको हालसम्म प्रवाह भएको सार्वजनिक सेवा प्रभावकारिता तथा विकास निर्माण गुणस्तरीयता बारे सार्वजनिक सुनुवाइ गरेको छ । स्थानीय सरकारले गरेका विकास निर्माणसहित सबै कार्यको नागरिकहरूलाई जानकारी गराउने उद्देश्यले अनिवार्य सार्वजनिक सुनुवाइ गर्नु पर्ने व्यवस्था छ । 

 

आइतबार पालिकाको केन्द्र हिलेदेवी प्रशासनिक भवन प्राङ्गणमा पालिकाको आयोजना र सान नेपालको सहजिकरणमा पालिका अध्यक्ष ठूलो कान्छा तामाङ, उपाध्यक्ष गीता विष्ट, प्रमुख प्रशासकीय अधिकृत दील कृष्ण श्रेष्ठ, पाँच वटै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारी र स्थानीयहरूको उपस्थितिमा सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो । 

 

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले हाल सम्म पालिकाका विषयगत शाखा, वडा कार्यालयहरूबाट भइरहेको विकास, निर्माण, भौतिक तथा आर्थिक प्रगतिको बारेमा जानकारी गराएका थिए । साथै नागरिक स्तरबाट उठेका विकास निर्माण, सेवा प्रवाह र आगामी बजेटको तयारीका बारेमा उठेका प्रश्नको उत्तर दिएका थिए । पालिका समृद्धिको बाटो तर्फ अगाडि बढिरहेको उल्लेख गर्दै प्रशासकीय अधिकृत श्रेष्ठले पालिकामा ९ किलो मिटर सडक कालो पत्रे अर्थात् पक्की निर्माण भएको बताए । दुई सय ७१ कच्ची बाह्रै महिना संचालन गर्ने गरी निर्माणको काम भइरहेको सार्वजनिक गरे । 

 

त्यस्तै १० शैयाको आधारभूत अस्पताल निर्माण अन्तिम चरणमा पुगेको, पालिका पर्यटकीय क्षेत्र कार्य अन्तिम चरणमा रहेको, पालिका गौरवका आयोजनाहरू निर्माणाधीन अवस्थामा रहेको, चिया बगान तथा नर्सरी विकास तथा विस्तारका कार्यक्रम  भइरहेको, एक घर एक धारा निर्माण सहित खानेपानी आयोजना संचालमा रहेको, एक पक्की पुल र २ झोलुङ्गे पुल निर्माणाधीन चरणमा रहेको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ सार्वजनिक गरे । 

 

कृषि यान्त्रीकरण अन्तरगत ट्याक्टर वितरण गरिएको, नमुना युवा गाउँ सभा गरिएको, एकीकृत घुम्ती शिविर मार्फत वडा वडामा गई स्वास्थ्य सेवा प्रदान गरिएको, स्मार्ट सडक बत्ती जडानको काम भइरहेको, मठ मन्दिर गुम्बा संरक्षणको काम भइरहेको, थाङ्का हब घोषणा गरी थाङ्कालाई ब्राङ्डिङ गर्ने काम भइरहेको, १० शय्याको अस्पतालमा जनशक्ति तथा स्वास्थ्य सामाग्री व्यवस्थापनको कार्य अन्तिम चरणमा पुगेको, यातायात गुरु योजना निर्माण कार्य अन्तिम चरणमा रहेको प्रशासकीय अधिकृत श्रेष्ठले उद्घोषण गरे । 

 

त्यस्तै पालिकाले ५० वर्ष भन्दा माथि उमेरका वृद्धा कन्या (विवाह नगरी बसेकी केटी) र पुरुषलाई पनि मासिक एक हजारका दरले भत्ता दिँदै आएको बताए । त्यस्तै सामाजिक सुरक्षा भत्ता लिने उमेर भएर पनि भत्ता नलिने घोषणा गर्ने एक जनालाई सम्मान गरेको उल्लेख गरे ।

 

पालिका अध्यक्ष तामाङले पालिकालाई थाङ्का हबबाटै रोजगारी र आम्दानीको स्रोत बनाउन सकिने बताउँदै थाङ्कालाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने गरी उत्पादन गर्नु पर्नेमा जोड् दिए । उनले शिक्षा सुधारको लागि विद्यालय मर्ज गरिएको, स्वास्थ्य सुविधालाई जोड्न अस्पताल सञ्चालनको तयारी भइरहेको, पर्यटन प्रवर्द्धनमा पनि काम भइरहेको जिकिर गरे । 

 

उपाध्यक्ष विष्टले नागरीहरूले पालिकाको सेवा प्रवाहको बारेमा सुझाव दिँदै थप सहजताको साथ सेवा प्रवाह गर्न सहयोग पुर्‍याउन जोड् दिँदै उनीहरूको आवश्यकता अनुसार काम गरिरहेको बताइन् । 

 

अरु के-के भनिन् उपाध्यक्ष विष्टले हेर्नुहोस् भिडिओमा ।