कृषि विकास रामेछापको आगामी बजेट बारे गोष्ठीमा किसाहरुले भने –‘अब ट्याक्टर बाँड्ने कार्यक्रम चाहिँदैन’

| जेठ ४, २०८१ शुक्रबार

A A A
A A A

४ जेठ, रामेछाप । कृषि विकास कार्यालय रामेछापले आगामी आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रमहरू समीक्षा तथा योजना तर्जुमा एक कार्यक्रम आयोजना गरी राय सुझाव माग गरेको छ । जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का (कार्की) को अध्यक्षता र रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेको प्रमुख आतिथ्यतामा मन्थली नगरपालिका, खाँडादेवी र सुनापति गाउँपालिकाका उपाध्यक्षहरू क्रमशः इश्वरी बस्नेत, रमा घिसिङ र गीता विष्ट, सबै पालिकाका कृषि शाखा प्रमुखहरू, रामेछाप र दोलखाका किसानहरूको प्रतिनिधि मूलक उपस्थिति सहित राय सुझाव मागेको हो । 

 

आगामी आर्थिक वर्षमा रामेछापका आठ र दोलखाका नौ वटा गरी १७ स्थानीय तहमा सञ्चालन हुने विभिन्न कार्यक्रमको लागि कूल १३ लाख पुँजीगत र चालु तर्फ ५ करोड रुपैयाँ बजेट आउने सिलिङ प्राप्त भएको कृषि विकास कार्यालय रामेछापका प्रमुख मीनबहादुर पुनले जानकारी दिए । 

 

त्यसको लागि कार्यालयले उच्च प्रविधियुक्त संरचनामा तरकारी खेती प्रवर्द्धन, साना सिचाई योजना, फलफूल खेती प्रवर्द्धन, अलैँची तथा मसला बाली प्रवर्द्धन, मागमा आधारित उद्यमशीलता विकास कार्यक्रम सञ्चालन जस्ता कार्यक्रम सञ्चालन गर्ने गरी कार्यक्रम माग गरेको बताए । 

त्यस्तै कृषि उत्पादनलाई वृद्धि गर्ने उद्देश्यको साथ कृषकहरूलाई कृषि भ्रमण, अवलोकन, आकस्मिक बाली संरक्षण र स्थानीय तहका प्राविधिकहरूसँगको समन्वय बैठक, हाल सम्म वितरण हुँदै आएका कृषि सामाग्री एवं यान्त्रिकीकरण मर्मत सम्बन्धित तालिम सञ्चालन गर्न बजेट मागिएको सार्वजनिक गरे । हाल सम्म कृषि क्षेत्रमा भएका ठुलो लगानीले सोचे अनुसारको उपलब्धि नभएको स्वीकार गर्दै आगामी दिनमा उपलब्धि मूलक कार्यक्रम गर्न खोजेको कार्यालयको भनाई छ । 

 

गोष्ठीमा बोल्ने जनप्रतिनिधि र किसानहरूले भने किसानहरूलाई कृषि यान्त्रिकीकरण बाँड्ने मात्रै काम भएको तर त्यसको सही ठाउँमा प्रयोग भए नभएको बारेमा खोजी नीति नभएको भन्दै आगामी वर्ष कृषि यान्त्रीकरण बाँड्ने कार्यक्रम नराख्ने जोड् दार माग गरे । दोलखाबाट आएका किसान विमल न्यौपानेले ‘अब यो वर्ष ट्याक्टर दिने कार्यक्रम राख्दै नराख्नुहोस् । बरु ट्याक्टर मर्मत गर्न सिकाउने तालिम, वर्कसपहरू राख्नुहोस्’, थप जोड् दिँदै उनले भने ‘अहिले प्रत्येकको घरमा ट्याक्टर छन्, तर त्यसको प्रयोग भएको देखिँदैन ५० प्रतिशत जति जोतेर बिग्रिएपछि मर्मत नगर्ने अनुदानमा पाएको त हो भन्दै बिगारेर राख्ने गरेको छ्यास्छ्यास्ति पाइन्छ ।’ 

 

सकिन्छ भने यान्त्रिकीकरण दिन कार्यक्रम यो वर्ष बन्द गरियो उनले जोड् दिँदै भनेका हुन् । 

 

कृषि उत्पादन बढाउने नाममा स्थानीय तह, कृषि विकास कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र उद्योग तथा वाणिज्यले ठुलो धनराशि खर्च गरेको भए पनि उपलब्धि मूलक नभएको तर्फ सरोकारवालाहरूले सचेत गराए । 

 

आगामी आर्थिक वर्षमा वास्तविक किसानको हातमा पुग्ने कार्यक्रम आउनु पर्नेमा जोड् दिँदै प्रमुख अतिथि एवं रामेछाप नगर प्रमुख लव श्रेष्ठले किसान स्वाभिमान पेसा भएको धारणा राखे । 

 

उनले किसानको पक्षमा अझै पनि धेरै काम हुन बाँकी रहेको उल्लेख गर्दै किसानका छोराछोरी नीति निर्माणको तहमा नपुग्दा उक्त समस्या भएको दाबी गरे ।