सिडिएसको आयोजनामा मन्थलीमा सुरु भयो झण्डै तीन महिना चल्ने ‘ब्यूटीसियन’ तालिम

| जेठ ७, २०८१ सोमबार

A A A
A A A

७ जेठ, रामेछाप । मन्थली नगरपालिका वडा नं १ कटहरबोट सहायक ब्युटीसियन तालिम सोमबार देखि सुरु भएको छ । गाउँ घरमा बेरोजगार रहेका किशोरी र महिलाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले तालिम संचालन गरिएको आयोजकको भनाई छ । तालिम झण्डै तीन महिना चल्ने छ । 

 

मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतसहितको उपस्थितिमा सामुदायिक विकास समाज (सिडिएस\) को आयोजना र चाइल्ड एड नेटवर्क (सिएन) बिएमजेट् जर्मनको आर्थिक सहयोगमा सुरु भएको तालिममा मन्थली नगरपालिका भित्रका ५ वटा वडा (४, १०, १२, १३ र १४)  बाहेकका २४ जना महिलाहरूको सहभागिता रहेको फिल्ड संयोजक राजु विक्रम बस्नेतले रामेछाप टाइम्सलाई बताए । 

 

उनका अनुसार तालिममा १६ देखि ४० वर्ष उमेरका समूहका किशोरी र महिलाहरूको मात्रै सहभागिता रहेको छ । सिटिइभिटीद्वार मान्यता प्राप्त ब्यूटीसिए–१ लेबलको यो तालिम ७२ दिन सम्म चल्ने छ । पछिल्लो समय उच्च बजार सम्भावना बोकेको यो तालिम लिएपछि महिलाहरूलाई स्वरोजगार र दक्ष  बनाउने आफूहरूको योजना रहेको संयोजक बस्नेतले प्रष्ट पारे । 

 

जिल्लाको मन्थली नगरपालिका सहित खाँडादेवी, सुनापति र दोरम्बा शैलुङ गाउँपालिकामा विभिन्न सिप मूलक तालिमहरू मोबाइल मर्मत, कफी बारिष्ठ, होमस्टे कुक एण्ड हस्पिटालिटी, बेकरी, मोटरसाइकल मेकानिकल, बिल्डिङ्ग इलेक्ट्रिसियन, पलम्बर, सिलाई कटाई जस्ता तालिम (सिडिएस) ले प्रदान गर्दै आएको छ । 

 

सो क्रममा मन्थली नगर भित्रका सिपसिकेरे दक्ष बन्न र स्वरोजगार बन्न चहानेहरुको लागि निकै महत्त्वपूर्ण तालिम सुरु भएको बस्नेतको तर्क छ । तालिममा सहभागीहरूलाई आवश्यक सबै सामाग्री आयोजकले व्यवस्थापन गरेको छ । 

 

मन्थली नगरपालिका वडा नं १ का कार्यवाहक वडा अध्यक्ष चन्द्रबहादुर माझीको अध्यक्षतामा सुरु भएको तालिममा परियोजना फोकल पर्सन उत्तम मणि ढुङ्गाना, उद्म विकास सहजकर्ता गणेश बुढाथोकी पनि सहभागिता रहेको थियो ।