वृक्षारोपणसहित विभिन्न कार्यक्रम गरी मनाइयो रामेछापमा विश्व वातावरण दिवस (भिडिओसहित)

| जेठ २३, २०८१ बुधबार

A A A
A A A

२३ जेठ, रामेछाप । विश्व वातावरण दिवस रामेछापमा वृक्षारोपण र जनचेतना मूलक कार्यक्रम गरी मनाइएको छ । डिभिजन वन कार्यालय र भू–तथा जलाधार व्यवस्थापन कार्यालयसहित विभिन्न सामुदायिक वनहरूको संयुक्त एवं छुट्टाछुट्टै आयोजनामा मन्थली नगरपालिका वडा नं १ सानिमदौ सामुदायिक वनमा वृक्षारोपण एवं विभिन्न जातका बिरुवा रोपेर मनाइएको हो । 

 

सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपाने, डिभिजन प्रमुख ओम सागर भण्डारी, मन्थली–१ का वडा अध्यक्ष होम प्रसाद पौडेल (रामहरि), सामुदायिक वन महासंघ (फोकोफोन) का केन्द्रीय सदस्य दुर्गा बहादुर श्रेष्ठ, मन्थली–१ का स्थानीय, शिक्षक, पत्रकार सञ्चारकर्मीसहित विभिन्न व्यक्तिहरूको उपस्थितिमा ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नाराका साथ मनाइएको हो । 

 

हरेक वर्ष जुन ५ तारिखका दिन मनाइँदै आइएको वातावरण दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले प्रकृति र पृथ्वीलाई जोगाउन आवश्यक रहेको धारणा राखे । जलवायु परिवर्तनलाई असर पार्ने विश्वकै चौथो स्थानमा रहेको हाम्रो देशले अन्य विकसित देशले वातावरणलाई नजोगाई गरेको विकास निर्माणले पारेको जलवायु परिवर्तनको असरलाई भोगी रहेको बताए । विकास निर्माणका काम गर्दा वातावरणलाई जोगाएर गर्न सक्नु पर्ने उनको भनाई छ । 

त्यस्तै डिभिजन प्रमुख भण्डारीले पनि जबसम्म भूमि सुरक्षित हुँदैन हामी पनि सुरक्षित हुँदैनौं भन्ने धारणा राखे । वातावरणको संरक्षण गर्दै पृथ्वीलाई यथास्थानमा राख्न नसके पानीका मुहान सुक्ने, खाद्यसंकट जस्ता ठुला समस्या आउने बताए । 

 

उनले वातावरणलाई जोगाउन हाम्रो जीवन शैलीलाई सुधार्दै जानु पर्नेमा जोड् दिए । 

 

त्यस्तै मन्थली माद्यामिक विद्यालय परिसरमा विद्यार्थीहरूले ११६ वटा बिरुवा रोपेका छन् । भने, लिटिल स्टार बोर्डिङ स्कुलका विद्यार्थीहरूले वातावरण संरक्षण बारे जनचेतना मूलक र्‍याली निकालेका छन् । 

 

उता खाँडादेवी गाउँपालिकामा पनि विद्यार्थी सङ्गठनहरूको आयोजनामा विभिन्न जातका बिरुवा रोपिएको छ ।