मुख्यमन्त्रीलाई भटेर जिल्ला समन्वय समिति रामेछापले गरायो जिल्लाको विकासमा ध्यानाकर्षण, शिवालय–बाम्ती–गुम्देल सडक कालोपत्रे गर्न माग

| जेठ २९, २०८१ मंगलबार

A A A
A A A

२९ जेठ, रामेछाप । जिल्ला समन्वय समिति रामेछापले जिल्ला भित्रको विकास निर्माणका काममा प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । अलपत्र र अपुरा योजनालाई सम्पन्न गर्ने गरी बजेट विनियोजन गरिदिन विशेष माग गरिएको हो । 

 

चालु आर्थिक वर्षका अपुरा योजनाहरूलाई विशेष प्राथमिकता दिएर समन्वय प्रमुख चिना खड्का (कार्की), उप-प्रमुख प्रेम सागर थापा, जिल्ला समन्वय अधिकारी भुवनेश्वर लामिछाने सहितको टोली मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय पुगेर मुख्यमन्त्री शालिकराम जम्मकट्टे, सहितका मन्त्रीहरुललाई भेटेरै जिल्लाको विकासमा ध्यान पुर्याइदिन आग्रह गरिएको बताइन् । आगामी आर्थिक वर्ष २०८१-०८२ मा रामेछापमा पर्याप्त बजेट हालिदिन समेत आफूहरूले जोडदार माग गरेको सुनाइन् ।  

 

जिल्ला भित्रका अपुरा र अलपत्र परेका सडक, बाटा सम्पन्न गर्न र खानेपानीको समस्या भएका ठाउँमा व्यवस्थित गर्न, शिवालय– देउराली–बाम्ती हुँदै गुम्देल सम्मको सडक कालोपत्रे गर्न विशेष रूपमा मुख्यमन्त्रीलाई पत्र बुझाउँदै ध्यानाकर्षण गरेको प्रमुख खड्काले जानकारी गराइन् । 

यही जेठको २२ मंगलबार मुख्यमन्त्रीलाई भेटेरै जिल्लाको विकास निर्माणमा उचित बजेट माग र प्राथमिकीकरणमा राख्न आग्रह गरेको समन्वय प्रमुख खड्काको भनाई छ । आफूहरू यहाँका स्थानीय सरकारको मात्रै बजेटले रामेछापको विकास र समृद्धि नहुनेमा प्रस्ट रहेकाले माथिल्ला सरकारहरूको ध्यानाकर्षण गर्न लागि परेको प्रमुख खड्काले बताइन् ।

 

जिल्लामा बन्ने ठुलो लगानीका योजना सहित स्थानीय सरकारले बनाएका संरचना, विकास निर्माणका आयोजनाहरूको समेत आफूहरूले फिल्डमै (पालिका–पालिका) पुगेर स्थलगत अनुगमन निरीक्षणको काम समन्वयले धमाधम गरिरहेको समेत समन्वय प्रमुख खड्काले प्रस्ट पारिन् ।