देश विकासमा काँग्रेस–एमालेको विकल्प नरहेको भन्दै रामेछापका नेताद्वय उपसभापति र सचिवको एकै स्वर– ‘संविधान संशोधन गरेर भए पनि यो सरकारले देशलाई निकास दिनै पर्छ’

| भदौ ७, २०८१ शुक्रबार

A A A
A A A

७ भदौ, रामेछाप । देशमा व्याप्त बेथिति मौलाएको, बेरोजगारी, राजनीतिक र नेता प्रति असन्तुष्टि, आक्रोश बढेको लगायत विविध समस्याहरू बढ्दै गएको भन्दै नेपाली काँग्रेस र नेकपा (एमाले) ले निकास दिनुको विकल्प नरहेको रामेछापका दुई पार्टीका नेताहरूले नै स्वीकार गरेका छन् ।  नेपाली काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर बनेको सरकारलाई लोकतन्त्रको अन्तिम विकल्प भएको बताएका छन् । देशका यी दुई ठुला पार्टीले पनि सान तीन कुरामा अल्झिएर बसे भने यो लोकतान्त्रिक गणतन्त्रमा अब अरू विकल्प नरहेको उनको भनाई छ । 

 

बुधवार राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनफ्पिजे), रामेछापले आयोजना गरेको पत्रकार र राजनीतिक दलहरू बिचको अन्तरक्रिया कार्यक्रममा बोल्दै उपसभापति कार्कीले काँग्रेस र एमालेले पनि जनताको आशा, अपेक्षा पूरा गर्न सकेनन् भने लोकतन्त्रै धरापमा पर्न सक्ने बताएका हुन् । 

 

उपसभापति कार्कीले अहिलेको सुनौलो अवसरबाट पनि काँग्रेस र एमाले चुकेमा लोकतन्त्रको औचित्य नै समाप्त हुने दाबी गरेका हुन् । पछिल्लो समय सरकार अस्थिर हुँदा समस्या भएकोमा असन्तुष्टि पोख्दै काँग्रेस र एमालेको सरकार निरन्तर गएर संविधानलाई संशोधन गर्दै जनताले अनुभूति गर्ने गरी काम हुनु पर्ने उनले औँल्याएका हुन् ।

 

दुई पार्टीको कमजोरीको कारण अस्थिरताबादीहरु सलबलाउने मौका मिलेको तर्क गरे । 

 

त्यस्तै नेकपा (एमाले) रामेछापका उपसचिव प्रकाश कुमार कार्कीले पनि देशलाई निकास दिने काँग्रेस र एमाले नै भएको दोहोर्‍याए । नयाँ भन्नेहरूले आरोप प्रत्यारोप गरे पनि नेकपा एमाले र नेपाली काँग्रेस नै मुलुकको परिवर्तनलाई संस्थागत गर्दै विकास र समृद्धि दिने पार्टीको रूपमा स्थापित भएको उनको जिकिर छ । 

 

नेकपा (माओवादी केन्द्र) सहित अन्य साना दलहहरु पनि रहेको उल्लेख गर्दै संविधान संशोधन गरेर निर्वाचनको प्रणालीलाई सुधार गर्नु आवश्यक देखिएको धारणा राखे । यो सरकार निरन्तर जानु पर्नेमा जोड् दिँदै केही कमी कमजोरी देखिएका ठाउँमा सुधार गर्दै देशलाई निकास दिन सक्नु पर्नेमा उनले जोड् दिए । 

 

भिडियो हेर्नुहोस्