‘हराएका वर्षहरू’ : मुस्ताङबाट १५ वर्षदेखि बेपत्ता रामेछाप भुजीका पदम तामाङ यसरी भेटिए

उमाकुण्ड गाउँपालिका वडा नं ७ भुजी दिलखर्क भन्ने ठाउँमा पदमबहादुर तामाङलाई गत शुक्रवार भेटिए

| भदौ १७, २०८१ सोमबार

भेटिएका परिवारहरु, तस्बिर स्रोत जिप्रका रामेछाप ।
A A A
A A A

१७ भदौ, रामेछाप । पछिल्लो एक हप्तादेखि सामाजिक सञ्जालमा ‘हेर्ने कथा’ को ‘प्रकाश’ को हराएका वर्ष निकै चर्चित छ । झण्डै ४० वर्ष देखि गोरखाको चुमभ्यालीमा काठमाडौँबाट पुगेर चौरी चराउँदै पारिवारिक सम्पर्कमा पूर्ण रूपमा टुटेका प्रकाश विद्या चापागाईँको युट्युब सिर्ङखला मार्फत भेटिएपछि त्यसरी नै पारिवारिक सम्पर्कमा टुटेका, आफन्ताहरुबाट टाढिएकाहरू सम्पर्कमा आउन थालेका छन् । करडौंको मन जित्ने र रुवाउने गरी 'प्रकाश'ले आफ्ना आफन्तीहरुसंग भेट गरेपछि त्यस्तै आशा र अपेक्षा गर्दै आफन्त बेपत्ता भएकाहरू खोजीमा निस्किन थाले । भेट्ने आशाहरू जगाउन थाले । 

 

त्यस्ता शुभसमाचारहरु देशका विभिन्न ठाउँमा थुप्रै सुनिन थालेका छन् । यस्तैमा, रामेछापमा पनि १५ वर्ष देखि परिवार सँग सम्पर्क विहीन भएका पदमबहादुर तामाङको पारिवारिक पुनर्मिलन भएको छ । ५८ वर्षीय पदम बहादुर तामाङ बेपत्ता भएको भन्दै उनकी श्रीमती बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं ५ घर भई हाल पोखरा महानगरपालिका वडा नं. ६ लेक साइड डेरा गरी बस्ने पदमकी श्रीमती चन्द्रमाला घर्ती मगरले जिल्ला प्रहरी कार्यालय रामेछापमा यही भदौ १३ गते निवेदन पेस गरेकी थिइन् । 

 

उनले हराएका पति पदम मुस्ताङ जिल्लाको चैले भन्ने स्थानमा काम गर्दै आएकोमा ४ वर्ष अघि देखि पूर्ण रूपमा सम्पर्क विहीन भएकोमा पदमले काम गर्ने स्थानमा गएर बुझ्दा उक्त स्थानबाट रामेछाप स्थायी ठेगाना बताएपछि पदमका आफन्त सहित खोजतलास गर्दा ४ वर्ष अघि नै त्यहाँबाट गएको पत्ता लागेको थियो । 

 

त्यसपछि बेपत्ता श्रीमानको खोजतलास गरी पाउँ भन्दै जिल्ला प्रहरी रामेछापमा निवेदन परेपछि खोजतलास गर्दा रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ७ भुजी दिलखर्क भन्ने ठाउँमा पदमबहादुर तामाङलाई गत शुक्रवार भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो । 

 

गत शुक्रवार जिप्रकाले १५ वर्ष देखि पूर्ण सम्पर्क विहीन भएका पदमलाई भूजीमा फेला पारेपछि शनिवार उनकी श्रीमती चन्द्र माला घर्तीमगर, छोरी दिलमाया पुन, छोराहरू प्रवेश र सन्देश तामाङसहित स्थानीय बासी तथा जनप्रतिनिधिसहितको उपस्थितिमा १५ वर्ष पछि उनीहरूको पुनर्मिलन गराइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो । 

 

यसरी बेपत्ता भएका पदमका तीन छोराछोरीसहित श्रीमतीसँग पुनर्मिलन भएपछि उनीहरू निकै खुसी देखिएका छन् ।