उमाकुण्ड गाउँपालिका : ‘पाँचौं राष्ट्रपति रनिङ शिल्ड’को उपाधि चण्डेश्वरीले जित्यो, कैलेश्वर दोस्रो

| मंसिर १४, २०८१ शुक्रबार

A A A
A A A

१४ मंसिर, रामेछाप । उमाकुण्ड गाउँपालिकामा पाँचौं पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रिति चण्डेश्वरीले उचालेको छ । लगातार तेस्रो पटक पालिकाका अन्य ६ वटा माविलाई पछि पार्दै वडा नं ४ स्थित चण्डेश्वरी माविले ५ तोला बढी सुन र २५ तोला चाँदीले लेपन गरी पालिकाको नक्साङ्कित शिल्ड जित्न (पँच्) गर्न सफल भएको हो । 

 

गत बुधवार वडा नं २ बाम्तिभण्डार स्थित शिद्देश्वर माविको खेल मैदानमा पालिका अध्यक्ष शेरबहादुर सुनुवारले उपाध्यक्ष सावित्री सुनुवारसहित वडा अध्यक्षहरू, कर्मचारी, सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूको भव्य उपस्थितिहरूमा उद्घाटन गरी सुरु भएको प्रतियोगितामा भलिबल, कबड्डी र एथलेटिक्स गरी ३० वटा इभेन्टमा २४६ जना विद्यार्थीहरू बिच प्रतिस्पर्धा भएको थियो । 

 

सो प्रतिस्पर्धामा १० वटा स्वर्ण, ६ रजत र २ कास्य पदक जित्दै चण्डेश्वरीले पाँचौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पारेको हो । त्यस्तै ८ वटा स्वर्ण, ९ रजत र ७ कास्यसहित वडा नं ६ गुप्तेश्वर स्थित कैलेश्वर मावि दोस्रो भएको छ । 

विजेताहरूलाई पालिका अध्यक्ष शेरबहादुर, उपाध्यक्ष सावित्री सुनुवार र वडा अध्यक्षहरूले पुरस्कार प्रदान गरे । विजेता चण्डेश्वरीले नगद २० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता कैलेश्वरले नगद १५ हजारसहित मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । 

 

४ स्वर्ण, ७ रजत र ३ कास्य पदक जित्दै वडा नं ३ कुँबुँकाँस्थली स्थित  जनता मावि तेस्रो भएको छ । उसले नगद १० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

अघिल्लो वर्ष अर्थात् चौथौँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा आफ्नो आशा लाग्दो खेल प्रदर्शन गरेको वडा नं २ बाम्तिभण्डार स्थित शिद्देश्वर माविले यो पटक २ स्वर्ण, ६ रजत र ६ कास्य शिद्धेश्वर मावि सान्त्वना भएको उमाकुण्ड खेलकुद विकास समितिका अध्यक्ष सुदिप सुनुवारले उद्घोष गरे । 

 

शिक्षासँगै खेल क्षेत्रलाई प्राथमिकता दिँदै आएको यो पालिकाले पछिल्लो पटकदेखि जातीय संस्कृति संरक्षणलाई पनि उत्तिकै महत्त्व दिएको छ । रनिङ शिल्ड प्रतियोगितामै सहभागी सबै विद्यालयहरूलाई वडागत रूपमा पहिचान बोकेका जातजाति, भाषाभाषिलाई झल्काउने गरी नृत्य प्रस्तुत गर्न निर्देशित गरेको पालिकाको शिक्षा शाखाले रनिङ शिल्डलाई थप व्यवस्थित गर्दै जाने योजना रहेको शिक्षा शाखा प्रमुख ङावा शेर्पाले बताए ।  

 

चालु आर्थिक वर्ष २०८१/०८२ को कूल २५ लाख बजेट विनियोजन गरी संचालित रनिङ शिल्डमा सहभागी ७ विद्यालयहरूलाई १ लाख १५–१५ हजारको दरले नगद नै सहयोग गरिएको थियो । साथै, यातायात खर्च समेत विद्यालयहरूलाई प्रदान गरिएको थियो । 

अनुपम बम ठकुरी ‘सुदूर साहेब’
| मंसिर १५, २०८१ शनिबार
रामेछाप टाइम्स
| मंसिर १४, २०८१ शुक्रबार