यी हुन् रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघको ‘वर्ष उत्कृष्ट’ सहकारी, अभियन्ता, व्यवस्थापकसहित ५ विधामा सम्मानित हुनेहरू

| पुस २९, २०८१ सोमबार

A A A
A A A

२९ पुस, रामेछाप । गत आर्थिक वर्षमा २०८०/०८१ मा एक सय ७२ वटा सहकारी मध्य गोकुलगंगा गाउँपालिका–३ रस्नालुको किस्मत बचत तथा ऋण सहकारी संस्था ‘जिल्ला कै उत्कृष्ट सहकारी (साकोस) घोषित भएको छ । पछिल्लो समय सहकारी क्षेत्रमा बढेको नागरिकहरूको अविश्वास र आर्थिक अनियमितताको  ‘पर्खाललाई’ चिर्दै किस्मत साकोस जिल्लाको उत्कृष्ट सहकारी पुरस्कारबाट पुरस्कृत भएको हो । 

 

गएको शुक्रवार रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को १७ औँ वार्षिक साधारण सभाको अवसरमा (नेफ्स्कुन) का महासचिव घनश्याम अधिकारी, (प्रोस्कुन) सञ्चालक होमबहादुर कार्की, रामेछाप जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुङ्गेल, संघका अध्यक्ष जगन्नाथ दाहाल लगायत सहकारी अभियन्ता, सञ्चालक, व्यवस्थापकहरूको उपस्थितिका बिच सहकारीलाई सम्मान पत्र प्रदान गरिएको हो । 

 

किस्मतसहित रामेछाप जिल्ला सहकारी संघले ५ विधामा सम्मान प्रदान गरेको महासचिव शिवराज श्रेष्ठले उद्घोष गरे । 

 

त्यस्तै, मन्थली–१ मा सञ्चालित दिदी बहिनी महिला बचत तथा ऋण सहकारी संस्था जिल्लाको उत्कृष्ट महिला (साकोस) पुरस्कारबाट सम्मानित भएको छ । संघले लामो समयदेखि सहकारी क्षेत्रमा आबद्ध रहँदै अभियन्ताको रूपमा परिचित गोविन्द प्रसाद घिमिरेलाई ‘उत्कृष्ट सहकारी अभियन्ता’ को रूपमा सम्मान गरेको छ । घिमिरे संघकै पूर्व अध्यक्ष एवं सल्लाहकार समेत रहेका छन् । उनी मन्थली बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष समेत हुन् । 

 

उत्कृष्ट व्यवस्थापक पुरस्कारबाट मन्थली–८ चिसापानीका अर्जुन कुमार श्रेष्ठलाई संघले पुरस्कृत गरेको छ । उनी समावेशी बचत  तथा ऋण सहकारी संस्थाका व्यवस्थापक रहेका छन् । 

 

७२ वटा सहकारी खारेज गर्न प्रस्ताव समेत रहेको रामेछाप जिल्ला सहकारी संघले बेताली बचत तथा ऋण सहकारी संस्था (गोकुलगंगा गा.पा.–४ बेताली) लाई ‘उत्कृष्ट कारोबार गर्ने संस्थाको’ रूपमा सम्मान गरेको छ । 

 

संघमा आबद्ध साकोसको संघले नियमनसँगै राम्रो नराम्रो सबै मूल्याङ्कन समेत गर्दै पुरस्कृत गरेर प्रोत्साहित समेत गर्दै आएको छ ।