बुधवार देखि मन्थलीमा ‘रामेछाप कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनी’, कृषि मेला निःशुल्क हेर्न पाइने (भिडिओसहित)
१२ माघ, रामेछाप । आउँदो बुधवार १६ देखि २६ गते शनिवार सम्म रामेछापको मन्थलीमा ‘रामेछाप कृषि, पर्यटन, औद्योगिक प्रदर्शनी मेला’ सुरु हुने भएको छ । प्रदर्शनी मेलाको ७५ प्रतिशत तयारी पूरा भएको आयोजक रामेछाप उद्योग वाणिज्य संघले जनाएको छ । जिल्ला समन्वय समिति रामेछापको मैदानमा हुने कृषि तथा औद्योगिक मेलाको भने निःशुल्क अवलोकन गर्न पाइने व्यवस्था गरिएको छ ।
शनिवार पत्रकार भेटघाट गर्दै संघका वरिष्ठ उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठले ११ दिने कृषि, पर्यटन, औद्योगिक प्रदर्शनी मेला आयोजना गरिएको जानकारी गराए । २५ लाख खर्च हुने अनुमान गरिएको मेलामा ७५ वटा स्टलहरू जिल्ला भित्र उत्पादन हुने कृषि, हाते होजियारी, लघु उद्यम, हस्तकला, घरेलु तथा उद्योगबाट उत्पादित सामाग्रीलाई पर्दशनिमा राख्ने तयारी गरिएको छ । साथै, वन पैदावार देखि जिल्ला भित्र उत्पादित सबै उत्पादनहरूलाई पर्दशनीसंगै खरिद बिक्री गर्ने उद्देश्यले आयोजित मेलामा स्थानीय कला संस्कृतिको जगेर्ना गर्नलाई ‘लाइभ दोहोरी’ देखि स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति बिच प्रतिस्पर्धा समेत गराइने गरी तयारी अगाडि बढाइएको वरिष्ठ उपाध्यक्ष श्रेष्ठको भनाई छ ।
‘लाइभ दोहोरी देखि यहाँका कलाकारहरूको भव्य प्रस्तुति रहेनछ’ स्थानीय कलाकारलाई प्रोत्साहन गर्न सक्दो प्रयास भइरहेको बताउँदै उनले भने ‘यो पटक बाहिरी कलाकार ल्याउँदा पनि सकारात्मक सन्देश प्रवाह गर्न सक्ने गरी ल्याउँछौ।’
प्रदेश र स्थानीय सरकारसँग समेत सहकार्यमा हुन लागेको यो मेलामा पालिकाहरूले आफ्नो ठाउँमा उत्पादित सामाग्रीको प्रचार प्रसारको लागि स्टलहरू राख्ने तयारी गरेका छन् । त्यसको लागि उनीहरूले कृषकहरूलाई मेला सम्म सामाग्री ल्याएर बिक्री वितरण गर्न सहयोग गर्ने भएका छन् ।
कृषि उपज र औद्योगिक सामाग्री राखिने स्टलहरू निःशुल्कै प्रदान गर्ने र केही स्टलहरू मात्रै सशुल्क दिने तयारी संघका सचिव यज्ञ सुवेदीले बताए । मेलामा सहभागी हुने कृषकहरूलाई निःशुल्क खाना र ढुवानी भाडा समेत संघले व्यवस्था गरेको संघका कार्यकारी अधिकृत नवीन केसीले बताए ।
बिहान १० बजे देखि नै सुचारु हुने कृषि तथा औद्योगिक मेलामा दिउँसो ३ बजे सम्म निःशुल्क प्रवेश पाउने र साँझ ५ बजेदेखि सुरु हुने राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति हेर्न भने १ सय रुपैयाँको टिकट काटेर प्रवेश पाइने आयोजकले तयारी गरेको संघका महासचिव कुमार श्रेष्ठले बताए । ‘३ बजेपछि हाम्रो कार्यक्रम स्थगित हुन्छ र ५ बजेदेखि राति ८ बजेसम्मको लागि टिकट काटेर जानु पर्छ।’
१६ देखि १९ गते ३ दिन सम्पूर्ण समय निःशुल्क प्रवेश गर्न पाइने र त्यसपछि भने ५ बजेपछि टिकट लागू गर्ने आयोजकले व्यवस्था गरेको हो । सो, विषयमा भने पुनर विचार गर्न पत्रकारहरूले सुझाव दिएका थिए ।
कृषि, पर्यटन तथा औद्योगिक मेलालाई उपलब्धि मूलक बनाउन स्थानीय जनप्रतिनिधिहरुसंग बहस, अन्तरक्रियासंगै साहित्यिक कार्यक्रम समेत संचालन गर्ने तयारी रहेको कार्यकारी अधिकृत केसीले बताए । विगतका वर्षहरूमा महोत्सव, सडक महोत्सव जस्ता महोत्सव संचालन गर्दै आएको उद्योग वाणिज्य संघले यो पटक भने कृषि, पर्यटन र औद्योगिक मेला गर्न लागेको हो ।
यो पटक रामेछाप जिल्लाका ख्याति प्राप्त कलाकारहरूलाई प्राथमिकता दिएर सांस्कृतिक कार्यक्रमलाई व्यवस्थित र आकर्षक बनाएको संघका सदस्य विजय श्रेष्ठ (राजु) ले दाबी गरे । ‘रामेछापकै कलाकारहरूलाई प्राथमिकता दिएका छौँ’ बाहिरी जिल्लाका कलाकारहरू ल्याउँदा पनि ‘विशेष ख्याल’ पुर्याइएको तर्क गर्दै ‘जिल्लाकालाई स्थान दिएका छौँ’ भने ।
कृषकहरूलाई पुरस्कृत गरिने
११ दिने उक्त मेला पर्दशनीमा सहभागी हुने कृषकहरूलाई विधागत रूपमा प्रमाण पत्र र नगदसहित पुरस्कृत गरिने संघका कार्यकारी अधिकृत नवीन केसीले बताए । त्यसको लागि तयार पारिएको विज्ञ समूहले विधागत रूपमा मूल्याङ्कन गर्ने र सो मूल्याङ्कनको आधारमा कृषकहरूलाई प्रोत्साहन गर्नको लागि नगदसहित सम्मान गर्ने तयारी संघले गरेको उनको भनाई छ ।
त्यस्तै स्थानीय कलाकारहरूलाई समेत उनीहरूको प्रस्तुतिको आधारमा नगदसहित सम्मान गर्ने तयारी भइरहेको संघको भनाई छ ।
कलाकारहरू
विगतका महोत्सवमा छोटा लुगा लगाउने र छाडा प्रवृत्तिलाई प्रोत्साहन पुग्ने गरी कलाकार महँगो शुल्क तिरेर ल्याउने गरिएकोमा आलोचन खेपेको संघले यो पटक भने चर्चामा राहेका तर संस्कार संस्कृतिलाई बचाउने गरी कलाकार ल्याउन लागेको दाबी गरेको छ । विशेष गरी रामेछापकै कलाकारहरू ल्याउन जोड् भइरहेको र केही चलेका कलाकारहरू ल्याएर मनोरञ्जन दिने संघको योजना रहेको सदस्य विजय श्रेष्ठ (राजु) ले जोड् दिए । स्रोतका अनुसार यो पटक २० गते चर्चित गायिका शान्ति रानी परियार, दुर्गेश थापा, ज्योति मगर, एलिना चौहान, रचना रिमाल देखि सविन राई सम्मका कलाकारहरू ल्याउने गरी छलफल भइरहेको बुझिएको छ ।
मेलाको अवसरमा र्याफ्टिङ
किङस्टार क्रियशन प्रा.लि.ले विगतका महोत्सवको अवसरमा पनि तामाकोशीमा र्याफ्टिङ संचालन गर्दै आएको र यो पटक पनि आफूले सुविधा दिन तयार रहेको प्रा.लि.का संचालक सुमन खड्काले प्रतिबद्धता जनाए ।