रामेछाप नगरपालिकाले शारीरिक अपाङ्गहरूलाई दियो ब्याङ्केट र परिवारलाई अभिमुखीकरण

१८ माघ, रामेछाप । रामेछाप नगरपालिकाले शारीरिक रूपमा अपाङ्गता भएकाहरूलाई सम्मान तथा परिवारका सदस्यलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । दुई वटा वडामा कार्यक्रम नसकिँदा सम्म नगरले कूल १ सय ६६ जना अपाङ्गता भएकाहरूलाई ब्याङ्केट प्रदान गरेको नगरपालिकाले जनाएको हो ।
बिहीबार वडा नं ७ सुकाजोर वडा कार्यालयमा कार्यक्रम सकेको नगरपालिकाको महिला विकास शाखाकी प्रमुख सरिता बुढाथोकीले रामेछाप टाइम्सलाई जानकारी दिइन् । उनका अनुसार हाल सम्म १, ३, ५, ६, ७, ८ र ९ नम्बरमा ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएकाहरूलाई ब्याङ्केट प्रदान गर्दै परिवारलाई सचेतना मूलक जानकारी गराएको हो ।
वडा कार्यालयहरुसंग सहकार्यसहित गरिएको सो कार्यक्रममा वडा नं १ मा १५ जना, ३ मा २२, ५ मा २७, ६ मा २३, ७ मा २७, ८ मा ३० र ९ नम्बर वडामा २२ जना क र ख वर्गका अपाङ्गता भएकाहरूलाई जाडोमा न्यानो ब्याङ्केट प्रदान गरेको छ ।
नगरपालिकाकी उप–प्रमुख बाला कुमारी कार्की (थापा) र सम्बन्धित वडा अध्यक्षहरूले ब्याङ्केट हस्तान्तरण गरेका हुन् । अब वडा नं २ र ४ बाहेक कार्यक्रम गर्ने तयारी भइरहेको शाखा प्रमुख बुढाथोकीको भनाई छ ।