लिखु करिडोर : यो वर्षमा साँढे ४ किलोमिटर सडक कालोपत्रे हुँदै, कोलोञ्जोरको पुल नबनाए आन्दोलन गर्ने जनप्रतिनिधिकै चेतावनी

२ फागुन, रामेछाप । रामेछापको सबै भन्दा होचो भू–भाग कोलोञ्जोर घाट र अग्लो भूमि लिखु नदीको उद्गमस्थल नुम्बुर हिमाललाई जोड्ने ‘लिखु करिडोर’ सडक निर्माण धमाधम भइरहेको छ । चालु आर्थिक वर्ष भित्रै साँढे चार किलो मिटर सडक कालोपत्रे सम्पन्न गर्न गरी काम भइरहेको छ ।
रामेछाप र सिन्धुलीको फिक्कल जोड्ने सुनकोशी माथि निर्माणाधीन कोलोञ्जोर घाट पुलको मुखदेखि साँढे चार किलो मिटर सडक चालु आर्थिक वर्ष भित्रै सक्ने गरी काम भइरहेको निर्माण कम्पनीका सब ओभरसियर कविराज भुजेलले रामेछाप टाइम्सलाई भने ‘असार मसान्त सम्म साँढे ४ किलो मिटर काम सकिन्छ ।’
कमल जित निर्माण कम्पनी (भीम श्रेष्ठ सञ्चालक) ले १८ करोड लागतमा पूर्वाधार विकास कार्यालय रामेछाप मार्फत ठेक्का लिएर लामो समय अलपत्र पारे पनि स्थानीय सरकार (रामेछाप नगरपालिका र वडा) को पटक–पटकको पहलमा काम सुरु भएको बताइएको छ । अहिले सडकको ठाउँ–ठाउँमा गुरु बनाएर ६० जना कामदार मार्फत काम भइरहेको सब ओभरसियर भुजेलको भनाई छ ।
२०८० असार २२ गते ०८२ असार २१ गते सम्म कालो पत्रे सक्ने गरी सम्झौता लिइएर निर्माण कम्पनीले काम थालेको भए पनि गएको बर्खामा गएको ठाउँ–ठाउँको पहिरो पन्छाउने काम सकेर कालो पत्रेको काम अगाडि बढाइएको निर्माण पक्षको भनाई छ ।
बेला–बेलामा स्थानीय सरकार र पूर्वाधार विकास कार्यालय मार्फत अनुगमन भइरहेको भन्दै निर्माण भएको संचरणा दिगो र गुणस्तरीय निर्माण भएको आयोजनाको तर्क छ । उचित बजेट सुनिश्चित नहुँदा र रामेछाप, ओखलढुङ्गा र सोलु खुम्बुका नेताहरूको प्राथमिकतामा नपर्दा योजनाको अलपत्र परेको देखिन्छ । वर्षौँदेखि ट्याक खनेर किनाराका बस्तीलाई बर्खामा भल–बाढी, पहिरो र नालाको पानी आएर समस्या हुने गरेको छ । भने, हिउँदमा धुलाम्मे सडकले हैरान पार्दै आएको छ ।
यो सडकलाई चाँडो भन्दा चाँडो निकास दिने गरी तीनै जिल्लाका जनप्रतिनिधि र सरोकारवालाको चासो जानु राम्रो हुने रामेछापका जनप्रतिनिधिको भनाई छ ।
यो सडक सम्पन्न भएको गुम्देलका जनताले तराईका जिल्लासँग सिधा सम्पर्क हुने र उत्पादित वस्तुको बजारीकरण गर्न सहज हुने रामेछाप नगरपालिकाकी उपप्रमुख बाल कुमारी थापा (कार्की) बत्ताउँछिन् । ‘यो सडक चाँडो भन्दा चाँडो बनाउनु पर्छ । हाम्रो कार्यकाल भित्र बनाउन सके जिल्लाकै लागि कोशे ढुङ्गा साबित हुन्छ ।’
ठेकेदारको लापाबाहिर र बजेट नहुँदा योजना अलपत्र अवस्थामा रहेको उल्लेख गर्दै उनले रामेछाप नगरपालिकाले आफ्नो ठाउँबाट सक्दो पहल गरिरहेको उनको दाबी छ ।
त्यस्तै वडा नं ४ हिमगंगाका वडा अध्यक्ष कृपा थापा मगरले पनि यो सडक चाँडो निर्माण गर्नु पर्नेमा जोड् दिँदै स्थानीयहरूले यो सडक बनेमा सहजता पाउने विश्वास व्यक्त गरे । ठेकेदारले पुल अलपत्र पारेर छाडेकै कारण स्थानीयहरूले निर्माणाधीन क्षेत्रमा राखिएका मेसिन, गाडी जलाइदिन्छौ भनेर धम्की समेत दिन थालेको सुनाउँदै ‘यो पुल निर्माण भएन भने अब आफूहरू नै आन्दोलनमा उत्रिनु पर्ने अवस्था आएको गुनासो गरे ।’
कोलोञ्जोर घाटको पुल बनेमा खुर्कोटको पुलको विकल्पको रूपमा सञ्चालनमा ल्याउन सकिने भन्दै पुल निर्माण सम्पन्न गर्न सरोकारवालाहरूले पहल थाल्नु पर्नेमा वडा अध्यक्ष र उपप्रमुख दुवैको जोड् छ ।
के हो ‘लिखु करिडोर’ आयोजना ?
नुम्बुर हिमालबाट सुरु हुने लिखु नदी अर्थात् हिमगंगा कोजञ्जोर घाटमा आएर सुनकोसीमा मिसिन्छ । अर्थात्, नुम्बुरबाट सुरु भएको लिखु कोलञ्जोरमा सुनकोशीमा समाहित हुन्छ । नुम्बुर हिमाल हो भने कोलञ्जोर जिल्लाकै सबैभन्दा बढी गर्मी हुने बेँसीको रूपमा चिनिन्छ । यो उब्जाउ भूमि पनि हो । जसलाई लिखु नदी किनाराले जोडेको छ ।
लिखु नदीको शिर उमाकुण्ड गाउँपालिका–१ गुम्देलमा पर्दछ । त्यहाँबाट सुरु भएको लिखु उमाकुण्डकै बाम्ती, कुँबुँकास्थली, प्रति, भूजी हुँदै लिखु तामाकोसी गाउँपालिकाको दुरागाउँ, सैपु, बिजुलीकोट भएर अघि बढ्छ । त्यसपछि रामेछाप नगरपालिकाको साँघुटार, हिमगंगा हुँदै रामपुरमा पुगेर कोलञ्जोर घाटमा पुगेपछि लिखु सुनकोसीमा मिसिएर बग्छ ।
लिखु नदीको शिरदेखि सुनकोसीमा नमिसिँदासम्म रामेछापकै भूगोल भएर बग्छ । लिखुको अर्को किनार सोलु र ओखलढुङ्गा पर्दछ । त्यसैले रामेछाप जिल्लाका लिखु पानी ढलाऊ क्षेत्रको उमाकुण्ड र लिखु तामाकोसी गाउँपालिका तथा रामेछाप नगरपालिकाका खोला, खहरे र छाँगाको पानी लिखु मै मिसिन्छ ।
गुम्देल, बाम्ती, कुँबुँ, प्रीति, भुजी, दुरागाउँ, सैपु, बिजुलीकोट, साँघुटार, हिमगंगा, रामपुर लगायतका क्षेत्रका धेरै खोला र छाँगा लिखुमा मिसिन्छन् । यसरी नदी किनार हुँदै एउटै सडक भएर नदी किनारै किनार तराई देखि हिमाल सम्म सिधा जोड्ने छ लिखु करिडोरले ।