पत्रकार हिमाल ढुङ्गेल र सुमित श्रेष्ठ नगदसहित सम्मानित
०९ जेठ, रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापको २१ औँ वार्षिक साधारण सभाको अवसरमा दुई जना पत्रकार नगदसहित सम्मानित भएका छन् । जिल्लामा क्रियाशील पत्रकार हिमाल ढुङ्गेल र सुमित श्रेष्ठ नगदसहित सम्मानित भएका हुन् । सम्मानित दुवै पत्रकारलाई प्रतिनिधि सभाका सांसद एवं अर्थ समितिका सभापति डा.कृष्णहरि बुढाथोकी लगायतले सम्मान पत्र प्रदान गरे ।
शनिवार मन्थलीमा सम्पन्न महासंघको २१ औँ वार्षिक साधारण सभाको अवसरमा जिल्लाको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने गरी खाँडादेवी गाउँपालिका–६ माकादुमका वडा अध्यक्ष समेत रहेका नारायणबहादुर कार्कीले स्थापना गरिदिएको पुरस्कार राशिबाट खाँडादेवी निवासी अग्रज पत्रकार हिमाल ढुङ्गेल नगद १० हजारसहित सम्मानित भएका हुन् । पत्रकार महासंघ रामेछापका पूर्व अध्यक्ष समेत रहेका ढुङ्गेल नेपाल टेलिभिजनमा आबद्ध रहेका छन् ।

त्यस्तै आफ्नी आमाको स्मरणमा पत्रकार रमेश ढुङ्गेलले स्थापना गरेको अक्षय कोषबाट रामेछापमा रहेका महिलाहरू हक अधिकार र दूर दराजमा सम्म रहेका महिलाहरूमाथि फैलिने विभिन्न रोगबाट बच्न सचेतना फैलाउने गरी कलम चलाएर टेवा पुर्याएको भन्दै पत्रकार सुमित श्रेष्ठलाई सम्मानित गरिएको महासंघ रामेछापले जनाएको छ । लामो समय देखि जिल्लामा बसेर मिडिया क्षेत्रमा आबद्ध श्रेष्ठ आफै मिडिया सञ्चालक समेत हुन् भने जिल्ला स्तरबाट प्रकाशित हुने दैनिक तथा साप्ताहिक पत्रिकाको सम्पादित भूमिकामा हरेक काम गर्दै आएका छन् । उनी अघिल्लो पटकको पत्रकार महासंघ रामेछापको अध्यक्षको उम्मेदवार समेत बनेका थिए ।
दीपक कुमार घिमिरेको नेतृत्वमा महासंघ रामेछाप बनेपछि पहिलो वार्षिक साधारण सभा गर्दै पहिलो पटक दुवै पुरस्कार राशिको पहिलो पुरस्कार एवं पत्रकार सम्मान कार्यक्रम प्रत्येक वार्षिक साधारण सभामा प्रदान गर्ने गरी विधिवत् सुरुवा भएको पत्रकार महासंघ रामेछापले जनाएको हो ।
