रामेछापमा एक उम्मेदवारको चुनाव खर्च ५ हजार, सबै भन्दा बढी करिब २७ लाख

२० मंसिर, रामेछाप । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको लागि उम्मेदवार बन्न चुनावमा भाग लिएका एक उम्मेदवारले रामेछापमा ५ हजार रुपैयाँ खर्च भएको विवरण बुझाएका छन् ।
गत मंसिरको १० गते यहाँको मत गणनाको नतिजा सार्वजनिक भएको मितिले ३० दिन भित्र खर्च विवरण बुझाउने मिति तोकिएको छ । योबिचमा केही उम्मेद्वारहरु खर्च विवरण बुझाउन आएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको हो ।
१२ जना उम्मेदवारले खर्च विवरण बुझाउँदा एक प्रदेश सभाका उम्मेदवारले नगद ५ हजार रुपैयाँ चुनाव खर्च भएको विवरण बुझाएको सूचना अधिकारी मेनुका धमलाले रामेछाप टाइम्सलाई जानकारी दिइन् । ‘पूर्ण विवरण तयार हुँदै छ । नाम सबैले बुझाएपछि मात्रै खुलाउन मिल्छ । प्रदेश सभाका उम्मेदवारले ५ हजार खर्च विवरण बुझाएका विवरण छ उनले भनिन् ।’
उनका अनुसार बुधवार सम्म प्रतिनिधि सभा तर्फ ६ जना र प्रदेश सभा ‘क’ र ‘ख’ दुवै तर्फको गरी ६ जना गरी कूल १२ जना उम्मेदवारले खर्च विवरण बुझाएका छन् । निर्वाचन आयोगले आठ वटा शीर्षकमा खर्च गर्न पाउने क्षेत्र तोकेको छ ।
यहाँ प्रतिनिधि सभा तर्फ राजनीतिक दल र स्वतन्त्र उम्मेदवार सहित २२ जना उम्मेदवारले चुनाव लडेका थिए ।
त्यस्तै प्रदेश सभा ‘क’ तर्फ ११ जना र ‘ख’ तर्फ १२ जना ले स्वतन्त्र सहित भाग लिएका थिए । कूल ४५ जना उम्मेद्वाहरुलाई खर्च विवरण सही र तोकिएको समयमा बुझाउन आयोगले भनेको छ । अब ३३ जना उम्मेदवारले खर्च विवरण बुझाउन बाँकी रहेको देखिन्छ ।
यो तथ्याङ्कमा खर्च विवरण बुझाउने काम जारी रहेकाले राजनीतिक दलको विवरण तयार हुँदै गरेको बताइएको छ ।
हाल सम्म जिल्ला निर्वाचनमा स्वतन्त्र सहितका उम्मेदवारले बुझाएको खर्च विवरणमा सबै भन्दा धेरै २६ लाख ५० हजार बढी खर्चको विवरण बुझाइएको सूचना अधिकारी धमलाले बताइन् । उनका अनुसार एक राजनीतिक दलका उम्मेदवारले २६ लाख ५० हजार ५०६ रुपैयाँ चुनावी खर्चको विवरण बुझाएका हुन् ।
त्यस्तै सबै भन्दा कम हाल ५ हजार रुपैयाँ खर्च बुझाइएको उनले बताइन् । आयोगले प्रतिनिधि सभाका उम्मेदवारले ३३ लाख, प्रदेश सभा (क) तर्फका उम्मेदवारले २३ लाख र प्रदेश सभा (ख) का उम्मेदवारले २१ लाख खर्च गर्न पाउने भनेको छ ।
यहाँ प्रतिनिधिसभा तर्फ नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धनका साझा उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी भएका छन् । प्रदेशमा भने गठबन्धनबाटै चुनाव लडेका माओवादी केन्द्रका तारानारायण श्रेष्ठ र युवराज चौलागाई निर्वाचित भएका छन् ।
पत्र हेर्नुहोस्