रामेछाप प्रहरीले प्रत्येक महिना ‘प्रेसमिट’ गर्ने, दिनदिनै बढ्दै बैंकिङ कसुर र करणीका घटना
१३ साउन, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले अब प्रत्येक महिनाको २ गते ‘प्रेस मिट’ गर्ने भएको छ । प्रत्येक महिनामा प्रहरीले सञ्चालन गर्ने विभिन्न गतिविधि र अपराध निराकरण बारे आफ्ना काम सार्वजनिक गर्न पत्रकार भेटघाट अर्थात् ‘प्रेस मिट’ गर्ने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो । राज्यको चौथो अङ्गसँग सहकार्य र समन्वय गर्दै समाजमा शान्ति सुरक्षाको लागि काम गर्ने उद्देश्यको साथ ‘प्रेस मिट’ गर्न लागेको प्रहरीको भनाई छ।
बुधवार पत्रकार सम्मेलनको सुरुवा गर्दै जिल्ला प्रहरी प्रमुख (डिएसपी) सन्तुलाल प्रसाद जैसवारले भने ‘अब प्रत्येक महिनाको २ गते हामी प्रेस मिट गरेर हामीले गरेका काम बारेमा जानकारी गराउँछौँ।’ केही महिना अगाडि रामेछापका प्रहरी प्रमुखको जिम्मेवारीमा आएका डिएसपी जैसवारले गत आर्थिक वर्ष २०८३/०८४ मा जिल्लाको शान्ति सुरक्षाको लागि सञ्चालन भएका आफ्ना कार्य बारेमा चर्चा गर्दै अपराधलाई रोक्न आफूहरू सक्रिय रूपमा लागि रहेको बताए ।
गत आर्थिक वर्षमा जिल्लामा कर्तव्य ज्यानमा –५ वटा, हारहरितयार –१, ज्यान मार्ने उद्योग– ४, आत्महत्या –३७, भवितव्य ज्यान –२८, लागू औषध –६, जबरजस्ती करणी –१०, बाल यौन दुरुपयोग – २, चोरी तथा डाँका –८ र अभद्र व्यवहार–१७, सवारी ज्यान – ९, कुटपिट– १, आपराधिक उपद्रो –१, बैंकिङ कसुर –२२, नागरिकता–१, ठगी–१, मानव बेचबिखन–१ र राष्ट्र सेवकलाई बाधा अवरोध –२ लगायत विभिन्न अन्य घटनाका मुद्दा दर्ता भएका रामेछाप प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमल राउतले जानकारी गराए ।
सूचना अधिकारी राउतका अनुसार ८ वटा स्थानीय तह रहेको रामेछापलाई तुलना गर्दा जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा आत्महत्याका घटना सबै भन्दा धेरै १२ वटा, रामेछाप नगरपालिकामा जबरजस्ती करणीका–४ वटा र लिखु तामाकोशी गाउँपालिकामा कर्तव्य ज्यान र चोरीका घटना ४–४ वटा भएको देखिएको छ ।
प्रहरी निरीक्षक राउतले सार्वजनिक गरेको तथ्याङ्कमा जिल्लामा आर्थिक अपराधका घटना अर्थात् बैङ्किङ कसुर, आत्महत्या र जबरजस्ती कारणीका घटना दिन प्रति दिन बढिरहेको देखिन्छ ।
त्यस्तै, मानिस बेपत्ता हुने घटना पनि बढेको प्रहरीको विश्लेषण छ । गत आर्थिक वर्षमा मात्रै ११ जना पुरुष, ३७ जना महिला, ४ जना बालक, १२ जना बालिका र ३ जना ज्येष्ठ नागरिक गरी ६७ जना बेपत्ता भएका छन् । बेपत्ता भएका मध्ये ६४ जना फेला पारिएको ३ जना अझै बेपत्ता रहेको प्रहरीको भनाई छ । यी विभिन्न आपराधिक घटनालाई नियम अनुसार जरिवाना अशुल्दा ३ करोड २९ लाख ५५ हजार ३ सय ६० रुपैयाँ राजश्व संकलन गरेको प्रहरीको प्रहरी निरीक्षक राउतको भनाई छ ।
