रामेछापमा फिल्मी शैलिएमा ८ जनाको ‘ग्याङ आएर’ एक पुरुष माथि निर्घात कुटपिट : खेत जाँदै गरेका पुरुषको अवस्था गम्भीर
सांकेतिक तस्बिर
०७ भदौ, रामेछाप । व्यक्तिगत रिसिबीका कारण रामेछापमा एक पुरुष माथि फिल्मी शैलीमा निर्घात कुटपिट भएको छ । ८ जनाले मिलेर एक पुरुषलाई निर्घात तरिकाले कुट्दा मन्थली नगरपालिका वडा नं ७, भटौलीको कल्लेरी स्थित माने डाँडाका ३५ वर्षीय जीवन बि क को अवस्था गम्भीर बनेको हो । काठमाडौँबाट रातारात ४ वटा मोटरसाइकलमा आएका ८ जनाले आइतबार बिहानै खेत जाँदै गरेका बि क माथि मरासन्न हुने गरी कुटपिट गरेको पाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो ।
पारिवारिक रिसिबिलाई साँधेर मन्थली नगरपालिका वडा नं ७, कल्लेरी, मानेडाँडा कै ३२ वर्षीय करण बि.क ले योजनाबद्ध तरिकाले ७ जना साथी ल्याएर जीवन बसिरहेको खाँडादेवी गाउँपालिका वडा नं ९, स्कुल डाँडामा आइ मरासन्न हुने गरी कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले जानकारी दिए । प्रहरी निरीक्षक एवं सूचना अधिकारी राउतका अनुसार आर्थिक अवस्था समेत कमजोर रहेका जीवनको अवस्था गम्भीर बनेको छ । उनलाई मन्थली अस्पतालमा उपचार सम्भव नभएपछि अपराह्न ४ बजे काठमाडौँ लगिएको छ ।
जीवनलाई काठमाण्डौबाट गए राति आएका ८ जनाको ‘ग्याङले’ कुटपिट गरी बेहोस बनाएका थिए । यसरी ग्याङ बनेर आएर एक पुरुष माथि ज्यानै लिने नियतले गम्भीर कुटपिट गरेको आरोपमा रामेछापकै खाँडादेवी गाउँपालिका वडा ३, भिरपानी आँपचौरका २५ वर्षीय गोपाल बि क, सोही पालिकाको वडा नं २, मझुवाका २० वर्षीय दीपेन्द्र लोहार, वडा नं १, राकाथुम ३६ वर्षीय नारायण लोहारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मन्थली नगरपालिका वडा नं ७, कल्लेरीका ३२ वर्षीय करण बि.क को व्यक्तिगत रिसिबिलाई लिएर करणले योजनाबद्ध तरिकाले कुटपिट गर्ने योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ । करणसँगै सोही वडाका २५ वर्षीय बिपना खाती, सिन्धुलीको सुनकोसी गाउँपालिका ४, डाँगी बस्ने २४, वर्षीय रमन बि.क, सोही ठाउँका ३० वर्षीय रमेश बि.क र २० वर्षीय चतुरलाल बि.कलाई प्रहरीले नियन्त्रणमा लिएको सूचना अधिकारी राउतको भनाई छ ।
कुटपिट गर्ने आठै जनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको बताएको छ ।
