जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासत ‘पहिलो पटक’ १० दिन देखि खाली

| चैत ३, २०७९ शुक्रबार

फाइल फोटो ।
A A A
A A A

३ चैत, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासत १० दिन देखि खाली बनेको छ । सामान्य प्रकृतिका दुर्घटना बाहेक ठुला आपराधिक घटनाहरू तत्कालीन अवस्थामा शून्यमा झरेकाले सदरमुकाम मन्थली स्थित जिल्ला प्रहरी कार्यालयको हिरासत १० दिनदेखि खाली बनेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

आफूलाई थाहा भएदेखि यसरी हिरासत खाली भएको यो पहिलो घटना भएको जिल्ला प्रहरीका सूचना अधिकारी राजु प्रसाद ढकालले रामेछाप टाइम्सलाई बताए । ‘मलाई यो भन्दा पहिले खाली भएको थाहा छैन । तर, विगत १०÷१२ दिन देखि खाली छ ।कहिले ५÷७ जनै हिरासतमै हुन्थे ।’

 

हिरासत खाली हुनमा प्रहरीले आफ्ना गतिविधि कडाइका साथ लागू गर्नु, सादा पोसाकमा प्रहरी परिचालन गर्नु, हरेक ठाउँमा सचेतना मूलक कार्यक्रमहरू गर्नु र आपराधिक गतिविधि गर्नेलाई प्रहरीले कारबाहीको दायरामा ल्याउन रहेको सूचना अधिकारी ढकाल बताउँछन् । ‘प्रहरीले काम गरेकै कारण यो सम्भव भएको हो । काम नगरेको भए आपराधिक क्रियाकलाप धेरै हुने थियो ।’ 

 

जिल्ला प्रहरी प्रमुख समेत रहेका (डिएसपी) होमबहादुर पराजुलीले पनि हिरासत खाली रहेको पुष्टि गर्दै प्रहरीको गतिविधिले गर्दा खाली हुन पुगेको रामेछाप टाइम्सलाई बताए । ‘खाली भएको हो । हामी आफ्नो कर्तव्यबाट पछि हटेका छैनौँ ।’ 

 

नागरिकहरू सबै सचेत भएको र नागरिकको शान्ति सुरक्षामा प्रहरी खटिएकाले यहाँको सुरक्षा अवस्था बलियो भएको रामेछाप प्रहरीको भनाई छ । 

 

यद्दयपी शुक्रवार आजै भने सदरमुकाम मन्थलीमै एक महिलाको पर्स चोरी गरेर फरार भएका एक जनालाई नियन्त्रणमा लिएर जिल्ला अदालत रामेछापबाट म्याद लिन पठाइएको सूचना अधिकारी ढकालले बताए । लामो १०÷१२ दिनपछि आजै भने चोरीको केसमा एक जनालाई पक्राउ गरेर ल्याइएको छ रामेछाप टाइम्ससंग ढकालले भने ।