मन्थली एयरपोर्ट छेउबाट पैसा सहितको झोला लिएर फरार भएका माझी पक्राउ

३ चैत, रामेछाप । रामेछापको मन्थली एयरपोर्ट नजिकैबाट एक महिलाको पर्स टिपेर भाग्ने एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मन्थली नगरपालिका वडा नं २ करमबोट घर भएका पुष्कर माझी छन् ।
माझीले सोही ठाउँकी मन्दिरा खत्रीको पैसा सहितको झोला÷पर्स लिएर फरार भएको खत्रीले प्रहरीलाई उजुरी दिएकी थिइन् । शुक्रवार आज मन्थली एयरपोर्ट नजिकै रहेको आफ्नै खेतमा १२ हजार ५ सय पैसा सहितको झोला राखेर काम गरिरहेकी खत्रीको झोला लिएर माझी फरार भएको र पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
आफ्नो पैसासहितको झोला लिएर माझी फरार भएको विषयमा खत्रीले प्रहरीलाई खबर गरेको र फरार रहेका माझीको खोजी गर्दै जाँदा मन्थली नगरपालिका वडा नं ८ चिसापानीको जखनिटारमा भन्ने ठाउँमा हराएको नगद १२ हजार ५ सय सहित झोला फेला पारेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजु प्रसाद ढकालले रामेछाप टाइम्सलाई बताए ।
प्रहरीको नियन्त्रणमा रहेका माझीलाई जिल्ला अदालतबाट म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको जानकारी गराइएको छ । योसँगै १० दिन देखि खाली बनेको जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा माझी आएको ढकालले बताए ।