विपद् व्यवस्थापन समिति रामेछापले बाढी पहिरोको उच्च जोखिम क्षेत्रको पहिचान गर्न विशेषज्ञ र अध्ययन टोली खटाउने र दीर्घकालीन व्यवस्थापनको लागि प्राधिकरणलाई अनुरोध गर्ने निर्णय गर्‍यो

| भदौ १०, २०८१ सोमबार

विपद् व्यवस्थापन समितिको बैठक, तस्बिर फाइल ।
A A A
A A A

१० भदौ, रामेछाप । जिल्ला विपद् व्यवस्थापन समिति रामेछापको आज बसेको बैठकले दोरम्बा शैलुङ गाउँपालिका वडा नं १, २ र ३ का पहिरोको जोखिम देखिएका बस्तीहरूको जोखिम मूल्याङ्कन गर्न विशेषज्ञसहितको अध्ययन टोली खटाई उक्त बस्तीहरूको दीर्घकालीन व्यवस्थापनको लागि अध्ययन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अनुरोध गर्ने पनि निर्णय गरेको छ । 

 

सोमबार प्रमुख जिल्ला अधिकारी (सिडिओ) एवं जिल्ला विपद् व्यवस्थापन समितिकी संयोजक अनिता निरौलाको अध्यक्षतामा बसेको बैठकले दोरम्बा शैलुङ् गाउँपालिकाको लेखर्कसहितका जिल्लाभित्रका विभिन्न स्थानहरूमा बर्सादको कारणले विस्थापित भएका घरपरिवारको तत्कालको आवश्यकता पहिचानको ६ सदस्यीय समिति पनि गठन गरेको छ । 

 

रामेछाप प्रशासनको संयोजकत्वमा जनस्वास्थ्य कार्यालय, रामेछाप उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, नेपाल पत्रकार महासंघ, जिल्ला शाखा, गैरसरकारी संस्था महासंघ रामेछाप सदस्य रहने गरी समिति गठन गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले सोमबार सार्वजनिक गरेको निर्णयमा उल्लेख छ । 

 

त्यस्तै सम्बन्धित गाउँपालिकाको अधिकृत प्रतिनिधि सदस्य रहने गरी समिति गठन गरिएको निर्णय उल्लेख छ । 

 

यस्तै जिल्लामा विपद्का घटनाहरू घटन सक्ने जोखिम कायम नै रहेको निष्कर्ष सहित ५०० थान त्रिपाल र ५० थान टेन्ट तत्काल उपलब्ध गराइदिन आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशमा अनुरोध गर्ने लगायतका निर्णय गरेको रामेछाप प्रशासनले जनाएको हो ।

 

समितिले प्रभावित क्षेत्रका मानिसहरुको उचित व्यवस्थापनको लागि भन्दै ७० वटा पाल पठाएको छ ।