‘विप्लप’ पार्टीका प्रवक्ता ‘प्रकाण्ड’ले भने – ‘०८४ मा सबै एकला-एकलै चुनाव लडेमा हामीले सबैलाई बढार्छौ’ (भिडिओसहित)

| भदौ १६, २०८१ आइतबार

A A A
A A A

१६ भदौ, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का केन्द्रीय प्रवक्ता खड्काबहादुर विश्वकर्मा (प्रकाण्ड) ले आगामी (०८४) को निर्वाचनमा सबै पार्टी एकला-एकलै चुनाव लडे आफ्नो पार्टी शक्तिशाली हुने दाबी गरेका छन् । पछिल्लो समय देशको अवस्था सबै तिरबाट चिन्ताजनक अवस्थामा रहेको उनको भनाई छ । ०८४ मा निर्वाचनमा भाग लिने बताउँदै उक्त निर्वाचनमा आफ्नो पार्टीको पक्षमा आउने समेत दाबी गरे । 

 

रामेछापको सदरमुकाम मन्थलीमा जिल्ला पार्टीको छैटौँ पूर्ण बैठकपछि पत्रकार भेटघाट गर्दै उनले यस्तो बताएका छन् । अहिले नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र पार्टीहरू एक अर्कामा गठबन्धन गरेर ठुला पार्टी बनेको (सिट हात पारेको) दाबी गर्दै भने ‘आगामी निर्वाचनमा एकला-एकलै चुनाव लडेयौं भने त हामीले सबैलाई बढारिहाल्छौँ ।’

 

तीन पार्टीहरूले गठबन्धन गरेर पनि सन्तोषजनक सिट नल्याएको कुराले उक्त कुरालाई पुष्टि गरेको उनको तर्क थियो । देशका केही परिस्थितिलाई नियाल्दा बङ्गलादेशको परिस्थिति उन्मुख हुन सक्ने धारणा राखे । केन्द्रमा सबै राजनीतिक दलहरुसंग विभिन्न विषयमा छलफल भइरहेको पार्टी बागमती प्रदेशका इन्चार्ज प्रकाण्डले बताए । 

देश पश्चगामी शक्तिहरूबाट परिचालित हुँदै वैदेशिक हस्ताक्षप बढेको र आर्थिक, सामाजिक र राजनीतिक रूपमै चिन्ताजनक रहेको पूर्व मन्त्री समेत रहेका प्रवक्ता विश्वकर्माले बताए । नेपाली जनताहरू अहिले धेरैयताको अन्तिम बिन्दुमा आइसकेको जिकिर गरे । देशमा नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको तत्काल आवश्यकता रहेको बताए । ‘इमानदार कम्युनिस्टहरू र लोकतन्त्रबादीहरु एकै ठाउँमा आएर विदेशीहरूको हस्ताक्षप मुक्त गर्नु अहिलेको आवश्यकता हो ।’

 

जिल्ला पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता, शिक्षकसहितको उपस्थिति रहेको बैठकमा उनीहरूको ब्रिफिङ सुनेपछि पत्रकार माझ उनले रामेछापका जनताले कम्युनिष्ट पार्टीको पक्षमा निकै राम्रो मत देखिएको सुनाए । प्रवक्ता विश्वकर्माले यहाँका जनताले कम्युनिष्ट पार्टीको नेतृत्व एक  पटक हेर्न चाहेको र त्यो अनुरूपमा परिवेश बन्दै गएको ‘ब्रिफिङ’ सुनेको नेता ‘प्रकाण्ड’ले बताए । 

 

जिल्लामा नेपाल कम्युनिष्ट पार्टीले सबै दलका इमानदार नेता कार्यकर्तासँग सहकार्य गर्दा राष्ट्रिय रूपमै सहज महसुस गरिएको बताए । आगामी दिनमा जनताको साथ लिएर अनियमितता, भ्रष्टाचार, बेरोजगारी र जनताको अप्ठ्यारोमा साथ दिने विषयमा बैठकले निर्णय गरेको बताए । 

 

देशमा पछिल्ला राजनीतिक घटनाक्रमहरू सन्तोषजनक नभएको बताए । रामेछाप जिल्ला कम्युनिष्ट आन्दोलनमा ऐतिहासिक जिल्ला भएको बताए । आफ्नो पार्टीले पहिलो चरणमा सबैसँग छलफलको माध्यमबाट समस्या सम्बोधन गर्न चाहेको तर त्यसो हुन नसके नयाँ ढङ्गाले सोच्ने धारणा राखे । 

 

शिक्षकहरूले राजनीतिक गर्न पाउनु पर्ने मौलिक अधिकार भएको जिकिर गर्दै प्रवक्ता प्रकाण्डले यस अगाडिकी शिक्षा मन्त्री सुमन्न श्रेष्ठले शिक्षकहरूले राजनीति गर्न पाउँदैनन् भनेर शिक्षकमाथि नै राजनीति गरेको आरोप लगाए ।