रामेछाप नगरपालिका : असोजको बाढी–पहिरोले ३५ सय मुरी भन्दा धेरै अन्नबालीमा क्षति, १ को मृत्यु ३ घाइते

८६ घर जोखिममा सहित ३१२ घरमा क्षेति ७२ वटा खानेपानीमा समस्या

| मंसिर ८, २०८१ शनिबार

फाइल फाेटाे
A A A
A A A

८ मंसिर, रामेछाप । गएको असोज १० देखि १२ गते सम्म अकल्पनीय तरिकाले आएको भीषण बाढीले जिल्लामा ठुलो धनजनको क्षति पुर्‍यो । असारे झरीदेखि भदौरे झरी सम्म सकियो । यो पटकको बर्खाले ठुलो समस्या ल्याएन भनेर बसेका स्थानीय सरकार देखि नागरिकहरू तर्सायो । रामेछाप जिल्लालाई बाहिरी जिल्लाहरूसँगको सिधा सम्पर्कबाट टुटायो । 

 

खानेपानी, विद्युत्, टेलिफोन, इन्टरनेट तिन दिन सम्म ठप्प बनायो । यातायातका साधन त हप्ता दिन सम्म ठप्पै भए । नागरिकरहरु घरबाहिर निस्कन समेत नसक्ने स्थिति बन्यो । त्यस्तै परिस्थितिमा मुख्य चाड पर्व सकाएर स्थानीय तहहरू विस्तार जिम्मेवारीमा फर्कँदै छन् । 

 

विशेष गरी बाढी पहिरोबाट जिल्लाको दोरम्बा शैलुङ, खाँडादेवी, उमाकुण्ड, लिखु तामाकोशी, सुनापति र गोकुलगंगा गाउँपालिकामा क्षति पुग्यो । 

 

जिल्ला सदरमुकाम समेत रहेको मन्थली र पुरानो सदरमुकाम रामेछाप नगरपालिका पनि विक्षिप्त बने । सबै पालिकाहरूमा वर्षासँगै आएको बाढी, पहिरोले क्षति गर्‍यो । 

 

अहिले सबै पालिकाहरू वडा तहबाट क्षतिको विवरण सङ्कलन गरिरहेका छन् । कतिपय पालिकाहरूले क्षतिको विवरण सङ्कलन गरी क्षतिको लागत अनुमान गरिरहेका छन् । कतिपयले विवरण सङ्कलनमै अल्झिएका छन् ।

 

रामेछाप नगरपालिकाले भने विवरण सङ्कलन गरेर क्षतिको लागत अनुमानको कार्य गरिरहेको बताएको छ । एक जना मृतक र ३ जना घाइतेसहित मानवीय क्षति पनि बेहोरेको यो नगरले ७२ वाट खानेपानीमा क्षति भएको नगरकी खानेपानी तथा सरसफाइ टेक्निसियन पवित्रा खत्रीले बताइन् । 

 

अकल्पनीय तरिकाले आएको उक्त बाढीले ९ वटा वडामा ३ हजार ५ सय ५६ मुरी बालीनालीमा क्षति भएको विवरण प्राप्त भएको उनले बताइन् । धान, कोदोदेखि बदम सम्मका विभिन्न बालिमा गरी ३५ सय मुरी भन्दा धेरै बालीनाली सखाप पारेको विवरणहरू प्राप्त भएको रामेछाप टाइम्सलाई बताइन् । 

 

१४ वटा पशुचौपाए मरेका छन् । कूल ३ सय १२ घरमा क्षति पुगेको छ । २० वटा घर पूर्ण रूपमा, ८६ वटा जोखिममा र २०६ वटामा आंशिक क्षति पुगेको बताइएको छ ।   नगरभरी ७२ वटा खानेपानीका विभिन्न समस्या देखिएको बताइन् । 

 

१० वटामा पूर्ण क्षतिसहित २७ वटा विद्युतका पोलमा क्षति भएको विवरण प्राप्त भएको शाखा प्रमुख समेत रहेकी खत्रीको भनाई छ । बाढी पहिरोमा परी ज्यान गुमाएका मृतकको परिवारलाई तत्काल नगद ५० हजारसहित त्रिपाल, दाल, चामल लगायतका खाद्यान्न सहयोग गरेको सुनाउँदै पालिकाले घाइतेहरूको उपचार गराएको जानकारी दिइन् । 

 

पालिका भित्र उक्त बाढी पहिरोले पुर्‍याएको क्षतिको पूर्ण लागत अनुमान बारे कार्य भइरहेको बताउँदै बाढीले अकल्पनीय क्षति गरेको उनको भनाई छ । ठुलो जनधनको क्षति व्यहोरेका पालिकाहरूलाई जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट ५०–५० लाख रुपैयाँका दरले रकम पठाइसकिएको छ । 

रामेछाप टाइम्स
| मंसिर ४, २०८१ मंगलबार