पूर्वधार विकास कार्यालय रामेछापको एक वर्षमा भत्तामा मात्रै खर्च भयो झण्डै आधा करोड, ‘हाकिम देखि कास’ सम्म कसले कति खाए ? (विवरणसहित)

चालु आर्थिक वर्ष २०८१/०८२ को ६ महिना समेतको विवरणलाई जोड्ने हो भने सो कार्यालय आधार करोड बढी बजेट भ्रमण तथा योजना अनुगमन भत्ता मै खर्च

| माघ १९, २०८१ शनिबार

A A A
A A A

१९ माघ, रामेछाप । जिल्लाको विकास निर्माणमा मुख्य जिम्मेवार भूमिकामा रहेको पूर्वाधार विकास कार्यालयको ठुलो बजेट कर्मचारीको भ्रमण भत्ता मै खर्च हुने गरेको तथ्याङ्कले देखाएको छ । सडक, पक्की पुल, झोलुङ्गे पुल, भवन लगायत ठू–ठुला पूर्वाधार निर्माणमा अग्रणी जिम्मेवारीमा रहने पूर्वाधार विकास कार्यालय रामेछापको लाखौँ बजेट कार्यालयका कर्मचारीहरूको भ्रमण तथा योजनाको अनुगमन भत्ता मै खर्च  गर्ने गरेको पाइएको हो । 

 

पूर्वाधार विकास कार्यालय रामेछापले रामेछाप टाइम्सलाई उपलब्ध गराएको विवरण अनुसार सो कार्यालयले गत एक आर्थिक वर्ष (२०८०/०८१) मा मात्रै ३५ लाख भन्दा बढी बजेट कार्यालयका कर्मचारीहरूले भत्ताको रूपमा बुझेका छन् । सो कार्यालयका प्रमुख (हाकिम/सि‍.डि.इ. ) देखि इन्जिनियर, सब.इन्जिनियर र कार्यालय सहयोगी (का.स) ले समेत लाखौँ रुपैयाँ भत्ता बुझेको पाइएको छ । 

 

प्राप्त विवरण अनुसार सो कार्यालयका कर्मचारीहरू मध्ये सबै भन्दा धेरै इन्जिनियर नवीन कुमार यादवले विभिन्न मितिमा २३ पटक गरी कूल २ लाख ६७ हजार ४ सय भ्रमण भत्ता बापत रकम बुझेका छन् । 

 

त्यस्तै सबै भन्दा कम १ पटक हेटौँडा गएको भनी राजु खड्काले ६ हजार ८ रुपैयाँ भत्ता बुझेको देखिन्छ । 

 

२ लाख भन्दा माथि सो कार्यालयबाट इन्जिनियर यादवसहित (ह.स‍.चा) आत्मलाल गौतमले २९ पटक गरी २ लाख ४५ हजार, अधिकृत अमर गिरीले १७ पटक गरी २ लाख १७ हजार ६ सय ३४ र (का.स) राजकुमार माझीले २३ पटक गरी २ लाख १२ हजार ९५० रुपैयाँ भत्ता बुझेका हुन् । 

 

पालिका भित्रका आयोजना अलपत्र पारेको भन्दै पूर्वाधार विकास कार्यालयमा ताला लगाएका खाँडादेवी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयहरु । ८ जेट, २०८१ मंगलबार । तस्बिर अर्काइभ ।

 

त्यस्तै कार्यालयका प्रमुख वीरेन्द्र कुमार बज्राचार्यले १६ पटक गरी १ लाख २५ हजार ७ सय १९ रुपैयाँ, (का.स) कुमार श्रेष्ठले १६ पटक गरी १ लाख २२ हजार ९ सय, इन्जिनियर नवीन अधिकारीले १७ पटक गरी १ लाख ८९ हजार २ सय रुपैयाँ, इन्जिनियर बासु देव दाहाल १२ पटक गरी १ लाख ६१ हजार ८ सय, ल्याब टेक्निसियन रजिना राणा मगरले १५ पटक गरी १ लाख ४७ हजार २ सय रुपैयाँ भत्ता बुझेको प्राप्त विवरणमा उल्लेख छ । 

 

त्यस्तै भाष्कर ढुङ्गानाले १८ पटक गरी १ लाख ९८ हजार ४ सय, सब.इन्जिनियर अच्युत पोखरेलले २२ पटक गरी १ लाख १६ हजार ७ सय, सब.इन्जिनियर सन्देश श्रेष्ठले १७ पटक गरी ९९ हजार ३ सय, सब इन्जिनियर नवराज थापाले २१ पटक गरी १ लाख ६४ हजार  ५ सय ५०, सब.इन्जिनियर पवन कार्कीले १९ पटक गरी १ लाख २९ हजार, सब. इन्जिनियर विवेक शाहले २३ पटक गरी १ लाख ९२ हजार ९ सय, इन्जिनियर सुभाष अधिकारीले १० पटक गरी ९३ हजार रुपैयाँ, सब. इन्जिनियर पुरुषोत्तम कुटवालले २२ पटकमा १ लाख ८९ हजार ८ सय र स।ब इन्जिनियर अमिर शंकर अधिकारीले १६ पटक गरी १ लाख ११ हजार ९ सय रुपैयाँ भत्ता बुझैको रामेछाप टाइम्सलाई प्राप्त विवरणमा उल्लेख छ । 

 

त्यस्तै, उमेश श्रेष्ठ ५ पटक गरी ४८ हजार ४ सय, कुमार पुडासैनीको दुई पटक गरी २४ हजार ४ सय, १२ पटक गरी इन्जिनियर महेन्द्र शाहले ७६ हजार २ सय, १३ पटक गरी सब.इन्जिनियर विपुल रोकाले ८३ हजार १ सय र समुन्द्र कुमार रोकाले २ पटक १०–१० हजार गरी कूल ३५ लाख ३२ हजार ३४ रुपैयाँ बजेट भत्तामा मात्रै खर्च गरेको देखिएको हो । 

 

यसरी हेर्दा चालु आर्थिक वर्ष २०८१/०८२ को ६ महिना समेतको विवरणलाई जोड्ने हो भने सो कार्यालय आधार करोड बढी बजेट भ्रमण तथा योजना अनुगमन भत्ता मै खर्च भएको बुझिएको हो ।

 

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार पारेको ‘प्रदेश भ्रमण खर्च नियमावली–२०७७’ अनुसार एक कर्मचारीले ‘एक जिल्लाबाट अर्को जिल्ला वा सोही जिल्लाको एक कार्यालयबाट बिस किलोमिटर भन्दा बढी दूरी भएको अर्को  कार्यालयमा जाँदा कर्मचारीले भ्रमण खर्च बापतको रकमको फाँटवारी कार्यालयबाट निर्धारित ढाँचामा पेस गर्नु पर्ने र उपनियम ‍(१) बमोजिम प्राप्त फाँटवारी उपर जाँचबुझ गरी नियमावली बमोजिम पाउनु पर्ने भुक्तानी दिनु पर्ने’ व्यवस्था छ। 

 

कार्यालयका प्राविधिकलाई सो नियम अनुसार प्रस्ट रूपमा भत्ता दिने व्यवस्था भए पनि अन्य कर्मचारीहरूलाई भने दिनु वा नदिनु कुनै नभनिएकाले प्रोत्साहन स्वरूप सबैलाई कार्यालयबाट उपलब्ध गर्दै आएको कार्यालयका प्रमुख बज्राचार्यले रामेछाप टाइम्सलाई बताए । ‘प्राविधिकहरूलाई प्रस्ट भनेको छ अन्य कर्मचारीको हकमा त्यस्तो केही भनेको छैन । तर, उनीहरूको प्रोत्साहनको लागि हामीले मिलाएर दिइरहेका छौँ ।’ 

 

यो कार्यालय मार्फत सञ्चालनमा रहेका योजनाहरू लामो समय अलपत्र परेको गुनासो दैनिक बढ्दो क्रममा रहेको छ । साथै, चालु आर्थिक वर्षको चौमासिक अवधि सम्मको खर्च विवरणलाई हेर्दा विकास खर्च न्यून देखिन्छ ।  

 

चालु आर्थिक वर्षमा पूर्वाधार विकास कार्यालय रामेछापको कूल बजेट १ अरब २ करोड बराबरको रहेको छ । जसमा विकास बजेट (पुँजीगत) १ अरब र चालु तर्फ डेढ करोड रहेको छ । यो डेढ करोड बजेटबाट कर्मचारी तलब, भत्ता, बिमासहित कार्यालय सञ्चालन खर्च समेत पर्दछ ।

 

यो हेर्नुहोस् कार्यालयका कर्मचारीहरुले कुन मितिमा के कार्य बापत कति भत्ता बुझे