जिल्ला प्रशासन कार्यालय रामेछापमा ‘दलित डेक्स’ स्थापना

| फागुन १३, २०८१ मंगलबार

A A A
A A A

१३ फागुन, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नं ५ मा ‘दलित डेक्स’ स्थापना गरिएको छ । संविधानले व्यवस्था गरेको दलित समुदायका विभिन्न प्रशासनिक कार्यलाई थप सहजता प्रदान गर्नको लागि सरकारले गरेको परिपत्र अनुसार रामेछापमा पनि डेक्स स्थापना गरी संचालनमा ल्याइएको हो । 

 

मंगलबार जिल्ला प्रशासन कार्यालय मन्थली, रामेछापमा नायव सुब्बा लक्ष्मण भुजेलको कार्यकक्ष (प्रशासन) मा नागरिकता वितरण सहित विभिन्न कागजी प्रक्रियामा देखिएका झन्जटलाई सहजता र सरलता प्रदान गर्ने उद्देश्यले दलित डेक्स संचालनमा ल्याइएको हो । 

 

मन्थली स्थित अगुवा दलित अधिकारकर्मीहरूसहितको उपस्थितिमा ६४ वटै वडाहरूबाट प्रशासनमा आइपुगेका दलित समुदायका सेवाग्राहीलाई सहज र सरल रूपमा टेवा पुर्‍याउने हेतुले कक्ष संचालनमा ल्याइएको सुब्बा भुजेलले प्रस्ट पारे । ‘गाउँ–गाउँबाट आएका र कागजी प्रक्रिया नपुगेर झञ्जट बेहोर्न बाध्य नहुन । हामी यसलाई सरल र सहज गर्न तयार छौँ ।’

 

विगतमा पनि दलित समुदायको सहजताको लागि राज्यले विभिन्न समयमा सहायता कक्षसहित विभिन्न ‘नाम’ दिएर डेक्सहरु सञ्चालन गरे पनि कार्यान्वयनमा भने चुकेको स्मरण गर्दै अगुवाहरूले भने त्यसो नगर्न सचेत गराएका थिए । साथै, उनीहरूले संविधानले नै व्यवस्था गरेको थरको आधारमा नागरिकता लिन पाउने कार्यलाई सहजताका साथ प्रदान गर्न समेत प्रशासनको ध्यानाकर्षण गरेका छन् । 

 

जिल्लाका केही कोही नागरिकले विविध कारणले नागरिकता पाउन नसकेको गुनासोलाई उल्लेख गर्दै विधि सम्मत रूपमा नागरिकता पाउन योग्हरुलाई नागरिकता प्रदान गर्न आफूहरूले समेत सहजीकरण गर्न सहयोग गर्ने अगुवाहरूले प्रतिबद्धता समेत जनाए ।