तामाकोशी नदीबाट अवैध रूपमा ढुङ्गा निकाल्ने ट्याक्टर प्रहरीले नियन्त्रणमा लियो

| जेठ १२, २०८३ मंगलबार

A A A
A A A

१२ जेठ, रामेछाप । रामेछापमा अवैध रूपमा ढुङ्गा उत्खनन गर्ने ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाका विभिन्न स्थानमा यसरी नदीबाट ढुङ्गा, बालुवा लगायत नदी जन्य सामाग्री चोरी निकासी भए पनि गम्भीरताको साथ सम्बन्धित निकायले चासो नदिएको भन्दै आलोचना हुँदै आएको छ । अर्का तिर नदी जन्य पदार्थ बेचबिखन गर्नै मुस्किल भएको गुनासो पनि स्थानीय तहहरू गर्दै आएका छन् । बेला बखत नदी जन्य सामाग्री बिक्री गरी राज्यको आम्दानीको स्रोत वृद्धि गर्नु पर्ने पनि आवाज उठ्ने गरेको छ । 

 

जिल्ला प्रहरी कार्यालय रामेछापले मंगलबार दिउँसो ३ः४० बजे मन्थली नगरपालिका वडा न ८, चिसापानी स्थित तामाकोशी नदीको बगरबाट अवैध रूपमा नदी जन्य पदार्थ ढु‌ङ्गा उत्खनन गरिरहेको ट्याक्टर नियन्त्रणमा लिएर चोरी निकासी गर्ने प्रति कडाइ गरेको जिल्ला प्रहरी प्रवक्ता राजन प्रसाद तिम्सिनाले जानकारी दिए । ‘गोप्य सूचना प्राप्त भएपछि प्रक्रिया अगाडि बढेको हो’ । 

 

यसरी नदी किनाराबाट अवैध रूपमा नदी जन्य सामाग्री उत्खनन गर्ने मन्थली नगरपालिका वडा नं २, बस्ने ४१ वर्षीय शिव कुमार कार्कीले चलाए‌को ना ६ त ६८२८ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि मन्थली नगरपालिकालाई बुझाएको जिल्ला प्रहरी प्रवक्ता तिम्सिनाले बताएका हुन् ।