उमाकुण्ड गाउँपालिकाले हटायो आधा दर्जन बढी करारका कर्मचारी

| साउन १७, २०८३ आइतबार

A A A
A A A

१७ साउन, रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिकाले आधा दर्जन करारका कर्मचारी हटाएको छ । यस अगाडि विभिन्न पदमा नियुक्ति गराएर सेवा गर्दै आएका गाउँपालिकाका विभिन्न वडाका स्थानीय एवं करारका कर्मचारीलाई पालिका भित्रकै कर्मचारीहरूबाट भएको ‘किचलोका’ कारण जिम्मेवारी मुक्त गरिएको स्रोतको दाबी छ । तर, नियम अनुसार हटाउनु पर्ने केही कर्मचारी अझै पनि नहटाइएको भन्दै जिम्मेवारी मुक्त गराइएका कर्मचारीहरूले भने असन्तुष्टि जनाएको पाइएको छ । 

गाउँपालिकाले आफूहरूलाई मात्रै जिम्मेवारी मुक्त गरेको तर नियम अनुसार हट्नु पर्ने केही कर्मचारीहरूलाई भने ‘काखी’ च्यापेर राखिएको जिम्मेवारी मुक्त गरिएकाहरूको आरोप छ । 

 

गएको असार ३१ गते एक पत्र जारी गरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ङावा शेर्पाले पालिकाका ७ वटै वडा कार्यालयलाई गाउँपालिकामा ‘स्वीकृत दरबन्दी भन्दा बाहेक करार सेवामा कार्यरत कृषि तर्फ प्राविधिक सहायक (सहायक स्तर पाँचौँ) सबै, नायब प्राविधिक सहायक (सहायक स्तर चौथो) सबै, (ओभिओटी) बाहेक र पशुपन्छी तर्फ पशु स्वास्थ्य प्राविधिक (सहायक स्तर पाँचौँ) सबैलाई हाजिर नगराउन निर्देशन जारी गरेका हुन् ।


यस अगाडि वडा तहमा लामो समय देखि कार्यरत केही कर्मचारीलाई एक्कासि जिम्मेवारीबाट हटाइएपछि उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ‘आफूहरूलाई बिना कारण जिम्मेवारीबाट हटाइएको’ र हटाउने भए करारमा कार्यरत ...ती कर्मचारीमा पनि लागू हुनु पर्ने भनी उजुरी दिएको बुझिएको छ।  यसरी उनीहरूको उजुरी पछि आयोगले दरबन्दी भन्दा बाहेकका कर्मचारी तत्काल हटाउन गाउँपालिकालाई आदेश दिएको पाइएको छ । 

 

पत्रको कार्यान्वयन गर्दै गाउँपालिकाले पालिकाको कृषि शाखामा कार्यरत अविजना कार्की, शोमा खड्‌का, नमुना सुनुवार, साङ्‌गेल्हमु शेर्पा, निरमाया जिरेल र पशु शाखामा कार्यरत सुनिल सापकोटा, तेजबहादुर सुनुवार र अनुप बस्नेतलाई जिम्मेवारीबाट हटाएको जनाएको छ । जिल्लाको उत्तरी क्षेत्र यो पालिकामा ३५ जना विभिन्न करार पदमा कार्यरत रहेका थिए । ८ जना हटाइएसँगै गाउँपालिकामा अब २७ जना करारका कर्मचारीहरू सेवामा आबद्ध रहेको रामेछाप टाइम्सलाई प्राप्त विवरणले पुष्टि गर्दछ ।

 

गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार भने जिल्ला बाहिरबाट गाउँपालिका पुग्ने कर्मचारीहरूको नियत सफा नदेखिएको गुनासो गर्दै आएका छन् । एक आर्थिक वर्ष मै ५ जना ‘हाकिम’ फेरिँदा सोचे अनुसारको काम गर्न नसकिएको तर्क गर्दै पालिका अध्यक्ष सुनुवारले गाउँपालिकाले लोक सेवा र शिक्षक सेवा जस्ता कक्षाहरू निःशुल्क सञ्चालन गरेर भोलिका दिनमा गाउँपालिका कै सहयोगमा उच्च पदका कर्मचारी उत्पादन नगरे सम्म यो समस्या समाधान हुन नसक्ने बताउँदै आएका छन् । त्यसको लागि आयोगकका निःशुल्क कक्षाहरू सञ्चालन समेत गरिएको उनको भनाई छ । 

 

दुर्गम क्षेत्र भनेर यहाँ आउने हाकिमहरू केही न केही स्वार्थ बोकेरै आउने गरेको पालिका अध्यक्ष सुनुवारको भनाई छ ।