मन्थली-३ का रामबाबु खत्रीले आफ्नै ‘मृत्यु दर्ता’ बनाएर श्रीमतीलाई खुवाए १५ महिनाको ३९ हजार भन्दा बढी एकल महिला भत्ता

| चैत १, २०७९ बुधबार

A A A
A A A

१ चैत, रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ३ का एक एक पुरुषले आफै मरेको प्रमाणपत्र बनाए श्रीमतीलाई एकल महिला भत्ता खुवाएको प्रमाण भेटिएको छ । यसरी आफ्नो मृत्यु दर्ता बनाएर भत्ता खुवाउनले व्यक्ति हुन् सोही ठाउँका रामबाबु खत्री । उनले आफ्नो मृत्यु दर्ता पत्र बनाएर एक  वर्षको एकल भत्ता खुवाएको तथ्य सार्वजनिक भएको हो । 

 

अन्नपूर्ण पोस्ट दैनिकमा रामेछापका जिल्ला संवाददाता पत्रकार  सन्तोष ढुङ्गेलले मङ्गलवार उक्त प्रमाण सार्वजनिक गरेका हुन् । सो प्रमाणअनुसार यसरी भत्ता खुवाउने खत्री अरू कोही नभएर एक सरकारी कर्मचारी नै हुन् ।

 

खत्री केही समय अघि जिल्ला प्रशासन कार्यालय र त्यसपछि सरुवा भएर जिल्ला कारागार रामेछापमा कार्यरत थिए । श्रीमतीलाई भत्ता खुवाएको पत्ता लागेपछि कारबाही हुने डरले खत्रीले जिल्ला कारागार सरुवा भएका थिए। त्यसको केही समयमै उनले जागिरबाट राजीनामा दिएको बुझिएको छ । ‘कारबाहीको डरले चाँडै राजीनामा दिएको बुझिएको छ, घटनाबारे जानेकाहरूले भने ।’

 

सो तथ्य अनुसार तत्कालीन वडा सचिव शिवकुमार महतोले २०७८ साल भदौ २१ गते नै बिधुवा भत्ताको परिचयपत्र सोही दिनदेखि लागू हुने गरी बनाइ दिएका देखिन्छ । तर, महतोले निर्मलालाई बनाएको परिचय पत्रमा बुबा आमाको मात्र नाम खुलाएका छन् भने पतिको नाम खुलाएका छैनन् । उनले किन यसो गरे भन्ने खुलेको छैन । रामेछाप टाइम्सले हाल वडा नं १२ गेलुमा कार्यरत सचिव महतोलाई सम्पर्क गर्दा सम्पर्क भएको छैन ।

 

मन्थली नगरपालिकाले सोही घटनासँग सम्बन्धित सार्वजनिक गरेको तथ्यका अनुसार खत्रीकी श्रीमती निर्मलाले २०७९ माघ सम्ममा १५ महिनाको सामाजिक सुरक्षा भत्ता बुझेकी छन् । 

 

तत्कालीन वडा सचिव महतोद्वारा हस्ताक्षरित प्रमाणपत्रका आधारमा हेर्दा निर्मलाले मासिक २ हजार ६६० रुपैयाँका दरले १५ महिनामा ३९ हजार ९ सय रुपैयाँ बुझेकी छन् । यो विषयमा मन्थली नगरपालिकासँग सोध्दा विगतमा भत्ता लिएको र पतिको मृत्यु नभएको जानकारी पाएपछि रोकेको जनाएको छ । मन्थली नगरपालिकाका सूचना अधिकारी हेमन्त बुढाथोकीले भने ‘हामीले सत्य, तथ्य बुझेर भत्ता कटौती गरिसकेका छौँ।’

 

यसबारेमा सम्बन्धित वडाका वडा अध्यक्ष कृष्ण गोपाल थापासँग जानकारी लिँदा भत्ता लिएको पुष्टि गरे । तर, आफ्नो कार्यकालभन्दा अगाडिको घटना भएकाले आफू निर्वाचित भए पश्चात् सम्पूर्ण रकम फिर्ता गराएको थापाले बताए। 

 

जीवित मान्छेलाई मृत्युको प्रमाणपत्र दिने, एकल महिलाका नाममा लाभग्राही बनाउने र सामाजिक सुरक्षा भत्ताको रकम दुरुपयोग गर्नेलाई प्राप्त प्रमाणका आधारमा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले बताए। 

 

कसैले चलखेल गरेर रकम फिर्ता गराएको भए पनि यो घटनालाई अनुसन्धान गर्ने र संलग्नलाई छानबिनको दायरामा ल्याउने प्रजिअ रेग्मीले बताए।