जंगलमा चराउन लागेका खसी चोरी गर्ने मन्थली-१३ फुलासीका दुई भाइ पक्राउ

| असोज २, २०८० मंगलबार

A A A
A A A

२ असोज, रामेछाप । मन्थलीमा जंगलमा चराउन लागेको खसी चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मन्थली नगरपालिका वडा नं १३ फुलासी कै २६ वर्षीय दीपक कार्की र सोही ठाउँका ३० वर्षीय रमेश अधिकारी हुन् । 

 

उनीहरूले छुट्टा छुटै समयमा छुट्टा धनिका छुटै खसी चोरी गरेका हुन् । जसमा गत भदौ २३ गते स्थानीय मोहनबहादुर खड्काले जंगलमा चराउन लगेको अन्दाजी ४० किलोको ४० हजार बराबर मूल्य पर्ने रातो रंगको खसी चोरी भएको हो । 

 

त्यस्तै २६ गते अन्दाजी साँझ ५ बजे तिर फुलासीकै जामुने स्थित ललिमाया अधिकारीले पनि चराउन लगेको कालो रंगको अन्दाजी २२/२५ किलोको २५ हजार मूल्य पर्ने खसी हराएको थियो । 

 

उक्त घटनामा अनुसन्धान गर्दा जिप्रका रामेछापले सोही ठाउँका दुई जनालाई पक्राउ गर्न सफल भएको मंगलबार प्रेस पत्रमार्फत सूचना अधिकारी एवं प्रवक्ता रञ्जन गिरीले जानकारी दिए । 

 

जिप्रकाले दिएको प्रेस पत्रमा ‘यी व्यक्तिहरूको संलग्नता देखिएको र उक्त चोरीमा प्रयोग भएको कालो रङको पल्सर मोटरसाइकल १ थान सहित बरामद गरिएको छ’ भनेको छ । 

 

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत रामेछापबाट म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ ।