काठमाडौँबाट मन्थली आउँदै गरेको गाडीले मोटरसाइकललाई ठक्कर दियो, मन्थलीकी किशोरीको ज्यान गयो, ४ जना घाइते

| कात्तिक १, २०८० बुधबार

A A A
A A A

१ कात्तिक, रामेछाप । काठमाडौँबाट मन्थली तर्फ आउँदै गरेको इलेक्ट्रिक गाडीले पूर्व इलाम तर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । भने, रामेछापका दुई सहित चार जना घाइते भएका छन् । घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार जारी छ । 

 

मृत्यु हुनेमा इलेक्ट्रिक गाडीमा सवार मन्थली नगरपालिका वडा नं १२ गेलु बस्ने अन्दाजी २० वर्षीय रमिला बुढाथोकी रहेकी छन् । गम्भीर अवस्थामा रहेकी उनलाई धुलिखेल अस्पतालका डा.ले मृत घोषणा गरेको काभ्रे प्रहरीले जनाएको हो ।

 

सोही दुर्घटनामा मन्थली वडा न १ बस्ने अन्दाजी २३ वर्षीय पुष्पा तामाङ, लिखु तामाकोशी गाउँपालिका वडा नं ६ बस्ने अन्दाजी ५१ वर्षीय टंक प्रसाद दाहाल घाइते भएका छन् । 

 

शरीरको केही भागमा चोट लागेका उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ । सोही दुर्घटनामा परी मोटरसाइकलमा सवार चालक इलाम थाकथुम गाउँपालिका ३  बस्ने अन्दाजी ४० वर्षीय राम कुमार राई र मोटरसाइकलमा पछाडि सवार राइकी श्रीमती ३९ वर्षीय  प्रविशा सुनुवार रहेकी छन् । 

 

उनीहरू दुवै जनालाई चोट लागेको र अवस्था सामान्य रहेको छ । 

 

आज बुधवार बिहान अन्दाजी ६ : ४५ बजेको समयमा काभ्रेको पनौती नगरपालिका वडा नं ५ मा इलामतर्फ जाँदै गरेको बा ६४ प १७७२ नम्बरको मोटरसाइकललाई मन्थली आउँदै गरेको प्रदेश नं ०३–००१ ज ०२९८ नम्बरको इलेकट्रोनिक गाडीले ठक्कर दिएर भाग्ने क्रममा सोही ठाउँको सड्क कुनाको नालिमा गाडी खस्दा दुर्घटना भएको काभ्रे प्रहरीले जनाएको हो । 

 

दुर्घटनामा गाडीमा सवार ७ जना घाइते भएका छन् । त्यस्तै गाडी र मोटरसाइकल सहित गाडी चालक काभ्रे पनौती नगरपालिका वडा नं ५ बस्ने ४१ वर्षीय उपेन्द्र थापालाई जिल्ला प्रहरी कार्यकाल काभ्रेले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।