रामेछापमा आगोलागिबाट ४ हजार ५ सय हेक्टर वन डढेर सख्खापः आगो लगाउने दुई महत पक्राउ

| बैशाख २९, २०८१ शनिबार

सांकेतिक तस्बिर ।
A A A
A A A

२९ वैशाख, रामेछाप । रामेछापमा वन जंगलमा आगो लगाउँदै हिँड्ने हाल सम्म दुई जना पक्राउ परेका छन् । उनीहरू छुट्टाछुट्टै स्थानबाट विभिन्न समयमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको हो । 

 

रामेछाप प्रहरीका अनुसार यही वैशाख २३ गते अन्दाजी ४ बजेको  रामेछाप रामेछाप नगरपालिका वडा नं १ गोठगाउँ स्थित कालिका देवी गाईखुरा सामुदायिक वन ठुलीभिरको जंगलमा आगो लगाउने लिखु तामाकोशी गाउँपालिका वडा नं ३ का २३ वर्षीय आशोक महतलाई पक्राउ गरिएको छ । 

 

उनलाई गत २६ गते पक्राउ गरिएको प्रहरीको भनाई छ । त्यस्तै रामेछाप नगरपालिका वडा नं ३ साँघुटार स्थित कालिकादेवी सामुदायिक वनमा आगो लगाउने सोही ठाउँका १९  वर्षीय सुवास महतलाई पनि उक्त जंगलको ठाउँ-ठाउँमा आगो लगाउँदै हिँडेको अवस्थामा पक्राउ गरिएको रामेछाप प्रहरीले बताएको हो । 

 

महतलाई ठाउँ ठाउँमा आगो लगाउँदै हिँडेको अवस्थामा स्थानीले  देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएपछि खटिएको प्रहरी टोलीले सुवासलाई यही वैशाख १० पक्राउ गरी आवश्यक प्रारम्भिक अनुसन्धानपछि थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय रामेछापलाई बुझाएको जानकारी दिएको छ । 

 

लामो समयदेखि पानी/वर्षा नहुँदा यो वर्ष रामेछापमा भीषण आगोलागि भएको थियो । चार दिन यता परेको पानीले जताततै लागेको डढेलो निभाउन विशेष रहात भएको छ । गर्मी र खडेरीको बेलामा जिल्लाका तीन दर्जन भन्दा बढी स्थानहरूमा एकै पटक सम्म डढेलो लागेको छ ।

 

यो वर्ष रामेछापमा सबै भन्दा धेरै दोरम्बा शैलुङ् गाउँपालिकामा डढेलो लागेको डिभिजन वन कार्यालय रामेछापको भनाई छ । यी अधिकांश आगोलागि व्यक्तिहरूले जानजान् लगाएको पाइन्छ ।

 

यो वर्ष झण्डै दुई महिनाको अवधिमा उमाकुण्ड, गोकुलगंगा, दोरम्बा शैलुङ्, सुनापति, खाँडादेवी, लिखु तामाकोशी गाउँपालिकासहित मन्थली नगरपालिका र रामेछाप नगरपालिकाका अधिकांश वन, जंगलबमा डढेलो लागेको छ । साथै रामेछाप नगरपालिकामा झण्डै ५० घर जलेका छन् । 

 

आगोलागिबाट ८ वटा स्थानीय तहका १ सय ५५ स्थानमा डढेलोबाट ४ हजार ५ सय हेक्टर वन सखाप भएको डिभिजन वन कार्यालय रामेछापले बताएको छ । यी विभिन्न घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका आशोक महत र सुवास महतलाई डिभिजन वन कार्यालय रामेछापमा बुझाएको र वन ऐन अनुसार अनुसन्धान भई रहेको प्रहरीले प्रस्ट पारेको छ ।