लिखु तामाकोशी–६ खिम्तीले किसानहरूलाई दियो जोत्ने ट्याक्टर, मिल, गाई, उन्नत जातका बाख्रा फलफूलका बिरुवा (भिडिओ)

| असार १७, २०८१ आइतबार

A A A
A A A

१६ असार, रामेछाप । लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीले किसानलाई ५० प्रतिशत अनुदानमा खेत जोत्ने ट्याक्टरसहितका कृषि यान्त्रीकरण वितरण गरेको छ । ‘राष्ट्रिय धान दिवस २०८१’ को दिन वडाको सबै भन्दा धेरै धान उत्पादन हुँदै आएको खिम्ती बेसीमा पालिका अध्यक्ष केशव महत र वडा अध्यक्ष शिव न्यौपानेले संयुक्त रूपमा किसानलाई ट्याक्टर र मिल अनुदानमा हस्तान्तरण गरेका हुन् । 

 

शनिवार पञ्चेबाजासहित असारे भाकामा खिम्ती बेसीमा रोपाई समेत गरेको यो वडाले ‘हाम्रो नभई, राम्रो किसान’ १३ जनालाई ट्याक्टर हस्तान्तरण गरिएको वडा अध्यक्ष न्यौपानेले बताए । ‘पालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत अनुदानमा दिएका हौँ ।’

 

त्यस्तै चार जना किसानलाई मिल, झम्क कार्की–१, सरल थापालाई–२, पार्वती बरुवाललाई–१ र कुमार बमलाई–१ सहित १२ जना कृषकलाई अनुदानमा गाई पनि वितरण गरिएको वडा अध्यक्ष न्यौपानेले बताए । 

 

पालिकाको चालु आर्थिक वर्ष २०८०÷०८१ को चार लाख बजेट मार्फत आवेदन माग भई आएबमोजिम यी सामाग्री वितरण गरिएको वडा अध्यक्ष न्यौपानेले प्रस्ट पारे । 

 

त्यस्तै ७५ प्रतिशत अनुदानमा बाख्रा प्रवर्द्धन कार्यक्रम अन्तर्गत पालिकामा सूचीकृत भएका चार जना कृषकलाई उन्नत जातका बोका र पाठी प्रदान गरिएको हो । मौरी पालन किसानलाई मौरीसहितको घार, मकै छोड्याउने मेसिन चार ५०– प्रतिशत अनुदानमा, किवी ७५ प्रतिशत अनुदानमा वितरण गरिएको वडा अध्यक्ष न्यौपानेले बताए । 

 

 

त्यस्तै कफीको १५ सय र जुनारको ८५० वटा बिरुवा केही दिनमै वितरण गर्ने तयारी भइरहेको उनको भनाई थियो । 

 

देशमै रोजगारी गर, खाडी नजाउन् भन्ने उद्देश्यले कृषि सामाग्री एवं आधुनिक औजार उपकरण वितरण गरिएको प्रस्ट पार्दै वडाले चालु आर्थिक वर्षमा विषादी, औषधि समेत अनुदानमा उपलब्ध गराएको वडा अध्यक्ष न्यौपानेले बताए । 

 

विगतमा कृषि विकास कार्यालय रामेछाप, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछाप र गाउँपालिकाले समेत अनुदानमा यस्ता सामाग्री दिए पनि हाल किसानहरूसँग ती सामाग्री नभएको माग किसानबाट आएकाले वडाले दिएको अध्यक्ष बत्ताउँछन् । 

 

विगतमा विभिन्न कार्यालयबाट पनि दिएका थिए ती ट्याक्टर लगायतका मेसिन औजार कहाँ छन् भन्ने रामेछाप टाइम्सको प्रश्नमा अध्यक्ष न्यौपानेले भने ‘अहिले छैनन् भन्छन् । सुनिन्छ यहाँबाट अनुदानमा लिएर कसैले बेच्छन् रे । कहाँ छन् म पनि खोजीमै छु ।’