रामेछापको नवजागरण साकोसः बागमती प्रदेशकै उत्कृष्ट सहकारी घोषित

| साउन १३, २०८१ आइतबार

A A A
A A A

१३ साउन, रामेछाप । जिल्लाको मन्थलीमा केन्द्रीय कार्यालय राखी संचालनमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्था (साकोस) बागमती प्रदेशकै उत्कृष्ट सहकारी घोषित भएको छ । प्रदेशका १३ वटा जिल्लाका सयौं सहकारीलाई पछि पार्दै नवजागरण उत्कृष्ठ हुन सफल बनेको हो । 

 

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) को ५ औँ स्थापना दिवस तथा चौथो वार्षिकोत्सव अवसरमा आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रोस्कूनले नवजागरण प्रदेशकै उत्कृष्ट सहकारी भएको घोषणा गरेको सहकारीले जानकारी गराएको छ ।

 

‘प्रोस्कुनको चौथो वार्षिकोत्सव अवसरमा यस नवजागरण साकोसलाई बागमती प्रदेश भरिका सहकारीहरू मध्ये उत्कृष्ट सहकारीको रूपमा घोषणा भएको छ’ नवजागरणले भनेको छ ‘आगामी साधारण सभामा सम्मान गर्ने भनिएको छ ।’

 

शनिवार मात्रै २६ औ स्थापना दिवस मनाएको साकोसले मन्थली नगरपालिकाका १४ र रामेछाप नगरपालिकाका ९ वटै वडामा सेवा संचालनमा छन् । १२ बैशाख २०७८ देखि आफ्नै भवनबाट सेवा दिँदै आएको छ ।

त्यस्तै लिखु तामाकोशी गाउँपालिकाको धोबीमा सेवा केन्द्र राखेर ७ वटै र खाँडादेवी गाउँपालिकाका ९ वटै वडामा नवजागरणको सेवा संचालनमा रहेको छ । उक्त सहकारीलाई (बागमती प्रोस्कूनले) आगामी साधारण सभामा पहिलो पटक उत्कृष्ट संस्थाको रूपमा अवार्ड प्रदान गर्ने गरी आइतबार प्रदेशकै उत्कृष्ट सहकारी घोषणा गरेको व्यवस्थापक रमेश उदासले रामेछाप टाइम्सलाई बताए । 

 

गत शुक्रवार सम्मको विवरण अनुसार यस सहकारीमा ९ हजार ८७२ जना सदस्य आबद्ध भएका छन् । भने, ४ करोड ४८ लाख २४ हजार ८ सय सेयर पुँजी रहेको छ । विगतका वर्षदेखि नै बागमती प्रदेशकै सहकारीहरू मध्ये जगेडा कोष बलियो रहेको यो सहकारीको ६ करोड ४७ लाख ६२ हजार ४८५ रुपैयाँ सहकारीले जनाएको छ ।

 

युवा व्यवसायी समेत रहेका श्याम थापाको नेतृत्वमा अगाडि बढी रहेको नवजागरण विगतमा पनि विभिन्न विधामा प्रदेशबाट पुरस्कृत र उत्कृष्ट घोषित हुँदै आएको छ । २०५५ साल साउन १२ गते स्थानीय २५ जना महिलाहरूको सक्रियतामा मासिक १० रुपैयाँ बचत गर्ने गरी स्थापना भएको यस सहकारी पछिल्ला केही वर्ष यता उदाहरणीय सहकारीको पहिचान बनाउन सफल भएको छ ।

 

नीति र विधि भित्र रहेर बचतकर्ताको मन जित्न सफल नवजागरणमा ७२७ जनालाई कर्जा प्रवाह गरेको सहकारीले बताएको छ । कूल १४ जना कर्मचारीहरूबाट नियमित सेवा दिँदै आएको साकोसमा ६ करोड ४५ लाख तरलता छ । भने, २४ करोड ६७ लाख वित्तीय लगानी गरेको जानकारी गराइएको छ । 

 

प्रविधिको प्रयोग, संस्थागत सुशासन र पारदर्शितालाई सँगै जोडेर अगाडि बढिरहेको यस सहकारीसँग अन्य कोषमा ६६ लाख ७ हजार रकम रहँदा कूल बचत ५८ करोड ५३ लाख, लगानी ३९ करोड ३५ लाख रहेको देखिन्छ । 

 

त्यस्तै संस्थागत पुँजी ६ करोड ६२ लाख र कुल सम्पत्ति ७४ करोड ७४ लाख रहेको व्यवस्थापक उदासले जानकारी दिए ।