राज्य मन्त्री कान्छारामको खटाइले २२ दिन भित्रै बनेको खुर्कोट–मन्थली पुल आजदेखि खुल्यो, उद्घाटनको यस्तो छ तयारी ?

| कात्तिक ६, २०८१ मंगलबार

A A A
A A A

६ कात्तिक, रामेछाप । गएको असोज ११ र १२ गते परेको अविरल वर्षासँगै सुनकोशीमा आएको बाढीले बगाएको खुर्कोट–मन्थली जोड्ने पुल मंगलबार (आज) देखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ । रामेछापको लाइफलाइनको रूपमा रहेको सुनकोशी नदीमाथिको पक्की पुल बगाए लगत्तै थालिएको पुनः निर्माण सकिएर मंगलबार उद्घाटन हुँदै छ । 

 

जिल्लालाई राजधानी काठमाडौँ सहित तराईका जिल्लासँग जोड्ने छोटो र सडक मार्गको सुनकोशीमा नेपाली सेनाले बेलिब्रिज निर्माण सकेपछि मंगलबार भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले उद्घाटन गर्दै छन् । विशेष गरी रामेछापबाट निर्वाचित सांसद एवं ऊर्जा, राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले अहोरात्र खटेर निर्माण गरिएको बेलिब्रिज गए राति सम्म साना, ठुला सवारीको परीक्षण सकेर मंगलबार देखि सुचारु हुन लागेको हो । 

 

खुर्कोट पुल बगाएपछि मन्थली नगरपालिका–६ भलुवाजोरको सेलेघाट नाका ठप्प जस्तै बनेको अवस्थामा आजदेखि सञ्चालन हुन थालेको हो । ऊर्जा, राज्य मन्त्री तामाङ पुल निर्माणमा अहोरात्र खटेर हेटौँडामा रहेको बेलिब्रिज निर्माणका सामाग्री मात्रै ल्याएनन् । पुल निर्माणकै क्रममा: सामाग्री अपुग भएर निर्माण रोकिने परिस्थिति भएपछि जलेश्वर पुगेर त्यहाँ स्टक रहेको निर्माण सामाग्री खुर्कोट ल्याएर निर्माण स्थलमै जुटेका थिए । गएको आइतबारै बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेपछि सञ्चालनमा ल्याउन अहोरात्र निर्माणस्थलमा बसेका राज्य मन्त्री तामाङ काठमाडौँ गएका हुन् । 

 

सुनकोशीले बगाएको २० दिन भित्रै खुर्कोटमा पुल निर्माण सकिएर सञ्चालनमा आएको हो । सोमबारदेखि साना–ठुला सवारी परीक्षण सञ्चालन गरिएको हो । उच्च स्रोतका अनुसार निर्माण सकिएको बेलिब्रिज उद्घाटन रिबन कसले काट्ने भन्ने विषयमा केही मनमुटाब देखिँदा राज्य मन्त्री तामाङ उद्घाटनमा नबसेको बुझिएको छ । 

दशैंको टिकको दिन समेत पुल निर्माणमा दौडिएका राज्य मन्त्री तामाङलाई पछि पार्दै भौतिक मन्त्रीले रिबन काट्ने तयारी अगाडि बढेपछि राज्य मन्त्री तामाङ बाहिरिन बाध्य भएको बुझिएको छ । 

 

नेपाली सेनाले निर्माण थालेको एक साता भित्रै काम सकेर दुई जिल्लालाई जोड्न लागेको खुर्कोट पुल सञ्चालनमा आएसङै जिल्लावासी भने खुसी देखिएका छन् । 

 

३ घण्टाको यात्रा ८ घण्टा सम्म लगाएर दोलखा हुँदै काठमाडौँ ओहोर–दोहोर गर्दा निकै कठिनाइ भोग्नु परेको बाध्यता हट्नेमा उनीहरू हर्षित छन् । यद्दयपी बिपी राजमार्ग अझै पनि यात्रामा सहज नहुँदा केही समस्या भने हुने छ । तर, राजधानीसहित तराईका जिल्लाबाट भने पुल सञ्चालनमा आएसङै सहज यात्रा सुरु हुने छ ।