नामाडीको हलुवा खोला सडकमा खसेको पहिरो पन्छाउने काम सुरु
१७ साउन, रामेछाप । नामाडी–फर्पु हुँदै खिम्ती जोड्ने मुख्य सडक अवरुद्ध भएको छ । गए राति ठुलो ढुङ्गासहितको लेदोको कारण सडक अवरुद्ध बनेको हो ।
गोकुलगंगा गाउँपालिका वडा नं ५, नामाडीको हलुवा खोला छेउको सडकमा माथिबाट पहिरो खस्दा सडक अवरुद्ध बनेको गाउँपालिका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) ले जानकारी दिए । उनका अनुसार सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध बनेको हो । यो सडकमा थप पहिरो झर्न सक्ने जोखिम देखिएको छ । तर, पहिरो पन्छाउने पहल सुरु भइसकेकाले चाँडै संचालमा आउने गाउँपालिका अध्यक्ष खड्काको भनाई छ ।
जिल्लाको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकासहित सोलुखुम्बुको लिखु पिके हुँदै विभिन्न बस्तीलाई मन्थली–खुर्कोट भएर जोड्ने सहज सडक अवरुद्ध बनेपछि यात्रुलाई सास्ती थपिएको छ । अब सवारी साधन अरनिको राजमार्ग प्रयोग गर्नु पर्ने बाध्यता थपिएको छ ।
यो सडक मार्गमा गत वर्ष गोकुलगंगाको फर्पु भिरमा मुख्य सडक क्षेत्रको ठुलो भाग भासिएपछि नयाँ ट्याक खोलेर सहज बनाइए पनि ठाउँ–ठाउँमा स–साना पहिरोको कारण सडक बारम्बार अवरुद्ध हुँदै आएको छ ।
