गाल्पा बजारमा तीन पालिकालाई ‘टार्गेट गरी’ संचालन भएको लघुवित्तको लुटधन्दाः ४ दर्जन किर्ते ऋणी खडा गरी कर्मचारीले गरे आधा करोड बढी रकमको खेलो
सांकेतिक तस्बिर ।
१७ साउन, रामेछाप । देशका विभिन्न जिल्लामा वित्तीय संस्थाहरूले चरम लापरबाही गरेको कारण स्थानीयहरूको उठिबास लागेको भन्दै समाचार सार्वजनिक भइरहँदा रामेछापमा पनि लघु वित्तको डरलाग्दो कालोकर्तुत् बाहिरिएको छ । लघु वित्तले किर्ते ऋणी खडा गरेर लाखौँ रकम दुरुपयोग गरेको तथ्य बाहिरिएपछि जिल्लामा वित्तीय संस्थामा धब्बा लागेको हो । १ जना पनि ऋणी नहुँदै दर्जनौँ नक्कली फाइल खडा गरेर लघु वित्तकै कर्मचारीले लुट धन्दा मच्चाएको पाइएपछि कर्मचारी प्रहरीको खोरमा थुनिन बाध्य बनेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार जिल्लाको खाँडादेवी, सुनापति र दोरम्बा शैलुङ् गाउँपालिकाका स्थानीयहरूलाई ‘टार्गेट गरी’ संचालन भइरहेको सामुदायिक लघुवित्त वित्तीय संस्थाले २०७५ सालमा ४१ जना नक्कली ऋणी खडा गरी संस्थाकै कर्मचारीले लुट् धन्दा चलाएका हुन् । लघु वित्तका कर्मचारीहरूले ४१ जना विभिन्न व्यक्तिको किर्ते हस्ताक्षर सहितको फाइल खडा गरी गैर कानुनी तरिकाले रु ७२ लाख ३७ हजार ३३५ रुपैयाँ ऋण लिएको तथ्य पुष्टि भएको हो ।
लघु वित्ता गाल्पा शाखाको तत्कालीन शाखा प्रमुख रमेश जंग शाह, तत्कालीन कनिष्ठ सहायक सरोज राई र बचतकर्ता सदस्य सुनिता घिसिङको आपसी मिलेमतोमा किर्ते फाइल खडा गरी ऋण जारी भएको पाइएको हो । यी कर्मचारीहरूले आफूलाई प्राप्त अख्तियारलाई मिचेर संस्थाको ‘कर्जा कार्यविधि विपरीत’ ऋण कारोबार देखाएका हुन् ।
कमल राउत, प्रहरी निरीक्षक एवं जिल्ला प्रहरी प्रवक्ता । तस्बिर रामेछाप टाइम्स ।
वित्तीय संस्थाहरू माथि कालो धब्बा लगाउने यी चार जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। भोलि सोमबार उनीहरूको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । तीन वटा पालिकाका स्थानीयहरूबाट दुःख गरी बचत गर्न लघु वित्तलाई दिएको रकम कर्मचारीहरू बाटै अपचलन भएपछि उनीहरू प्रहरीको नियन्त्रणमा परेका छन् ।
