परियोजनाको ७५ % अनुदानमा पाँच वटा कोल्ड चेम्बर बनेपछि रामेछापमा जुनारको भण्डारण, बेमौसममा राम्रो मूल्यमा बेच्ने

| माघ १२, २०८१ शनिबार

A A A
A A A

१२ माघ, रामेछाप । जुनारको पहिचान बनाउँदै गएको रामेछापमा चालु आर्थिक वर्षमा दुई वटा कोल्ड चेम्बर निर्माण हुने भएको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा मात्रै रामेछापमा पाँच वटा कोल्ड चेम्बर बनेर सञ्चालनमा छन् । 

 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापले ‘जुनार जोन’ लागू गरेको रामेछाप नगरपालिकामा मात्रै विभिन्न समूह, सहकारी फार्म मार्फत ५ वटा ५ टन भन्दा माथि जुनार भण्डारण क्षमताको कोल्ड चेम्बर बनेका हुन् ।

 

‘यो वर्ष २ वटा निर्माण गर्ने कार्यक्रम छ’ कृषक छनोट पछि कहाँ निर्माण गर्ने भन्ने टुङ्गो लाग्ने बताउँदै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कार्यालय प्रमुख गैरेले रामेछाप टाइम्ससंग भने ‘गत वर्ष बनेका ५ वटामा सबैमा जुनार राखिएको छ ।’

 

यो वर्ष दोलखा समेत कार्य क्षेत्र रहेकाले दुई वटा कार्यक्रम रहेकोमा १–१ वटा बाँडिन सक्ने बुझिएको छ । निर्माण भएका ५ वटा चेम्बरमा अहिले सबैमा जुनार भण्डारणमा रहेको परियोजनाले जनाएको छ ।  

 

बंगैचामा सबैले एकै पटक एकै मूल्यमा बेच्नु पर्ने बाध्यता यसरी कोल्ड चेम्बर बनेपछि हेटेको छ । बेमौसमको बेलामा भण्डारण गरेको जुनार दोब्बर मूल्यमा बिक्री हुने हुँदा किसानलाई निकै फाइदा पुग्ने परियोजनाको दाबी छ । 

 

गत वर्ष परियोजनाले किसानहरूको २५ प्रतिशत लागत साझेदारीमा रामेछाप नगरपालिका वडा नं ६ औख्रेनीको रसिलो जुनार कृषक सहकारी (शेरबहादुर तामाङ), सोही ठाउँका पदमबहादुर तामाङको कृषक जागरण सहकारीको १० देखि १२ टन क्षमताको कोल्ड चेम्बर निर्माण गरिएको हो । दुवै सहकारी मार्फत निर्माण गरिएको उक्त कोल्ड चेम्बर निर्माण गर्न परियोजनाले १०–१० लाख अनुदान सहयोग गरेको हो । 

 

त्यस्तै, ओख्रेनीकै निमराज तामाङको प्रगतिशील कृषि तथा पशुपक्षी फार्म, धनबहादुर घिसिङको प्रेरणा नर्सरी कृषि तथा पशुपंक्षि फार्म र सुकाजोरका लोकेन्द्र श्रेष्ठको मन्थली डिलक्स एग्रो फरेष्टि प्रा‍.लि.लाई ७ लाख ५० हजार अनुदान प्रदान गरिएको परियोजना रामेछापका लेखापाल महेश श्रेष्ठले बताए ।

 

‘जोन लागू’ भएको रामेछाप नगरपालिकामा नगरपालिकाले समेत कोल्ड चेम्बर निर्माण गर्न सहयोग गरेपछि कृषकहरूलाई थप टेवा पुगेको छ । यो वर्ष बेलैमा औषा किरा समेतको व्यवस्थापन गरेकाले जुनार उत्पादन पनि बढेको उत्पादकहरू बत्ताउँछन् । 

 

रामेछाप र मन्थली नगरपालिकासहित सुनापति, दोरम्बा शैलुङ, गोकुलगंगा र उमाकुण्ड गाउँपालिकामा जुनार उत्पादन हुँदै आएको छ । अघिल्लो वर्षको तुलनामा राम्रो जुनार फलेको हो । कृषि विकास कार्यालय रामेछापका अनुसारको १ हजार ३ सय ३२ हेक्टर क्षेत्रफलमा जुनार तथा सुन्तला जातका फलफूल लगाइएको छ । 

 

त्यस मध्ये ५ सय ४० हेक्टर क्षेत्रलाईलाई जोन क्षेत्र लागू गरिएको छ । जिल्लामा वार्षिक ४ हजार ५ सय मेटिक्ट्रन जुनार उत्पादन हुने गरेको परियोजना कार्यालय रामेछापको दाबी छ । 

 

परियोजनाले मन्थली र रामेछाप नगरपालिकालाई जुनार जोन कार्यक्रम लागू गरेको छ । पछिल्लो समय जिल्लामै पनि जुनारको जुस लगायतका परिकार उत्पादन हुने गरेको छ ।