चर्चित नेपाली ब्यान्ड ‘नेपथ्य’ले रामेछापको मन्थली सहित पाँच सहरमा कन्सर्ट गर्ने (भिडिओ)

| जेठ २६, २०८१ शनिबार

A A A
A A A

२६ जेठ, रामेछाप । चर्चित नेपाली ‘ब्यान्ड’ ‘नेपथ्य’ ले रामेछापको मन्थली सहित आसपासका जिल्लाहरूमा साङ्गीतिक कन्सर्ट कार्यक्रम गर्ने तयारी अगाडि बढाएको छ । त्यसको लागि नेपथ्यका प्राविधिक, व्यवस्थापक लगायतको टिम ती जिल्ला जिल्लामा पुगेर कार्यक्रम गर्ने वातावरण मिलाउन छलफलमा समेत जुटेका छन् । 

 

सोही क्रममा रामेछापको मन्थलीमा समेत कन्सर्ट गर्ने वातावरणको बारेमा बुझ्नको लागि नेपथ्य टोली मन्थली आएर नगर प्रमुख लव श्रेष्ठसहितका सरोकारवालाहरुसंग एक चरणको  छलफल सकेको छ । 

 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा लोक प्रिय गायक अमृत गुरुङको नेपालय टिम ‘नेपथ्य’ ले पूर्वी जिल्लाहरूमा विभिन्न समयमा कार्यक्रम सफल पारेपछि रामेछापको मन्थली, दोलखाको चरिकोट, जिरी, सिन्धुपाल्चोक चौतारा, सिन्धुलीको सिन्धुली, खुर्कोट लगायतका स्थानमा कार्यक्रम गर्नको लागि वातावरण बुझ्दै हिँडेको नेपालयका अर्पण शर्माले रामेछाप टाइम्सलाई बताए । ‘हामी कार्यक्रम गर्न सकिन्छ कि भनेरै ती स्थानहरूलाई टार्गेट बनाएर बुझ्नलाई हिँडेका हौँ ।’

 

शर्माका अनुसार नेपथ्यले कन्सर्ट गर्नको लागि ८ देखि १० हजार माथि दर्शक अट्ने खुल्ला मैदान, टिकट बिक्री, स्थानीयहरूको समन्वय र सहकार्य खोजेको छ । ‘हामी यसबारेमा बुझ्दै छौँ कार्यक्रम हाम्रो फिक्स टाइमको हुन्छ ।’

 

आफूहरूले कन्सर्ट गरे यी जिल्लाहरूको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने नेपालयको दाबी छ । ‘यहाँको पर्यटन प्रवर्द्धनमा योगदान पुग्छ, अलि खर्चिलो छ ।’

 

मन्थलीमा नगर प्रमुख श्रेष्ठसहित सरोकारवालासंगको छलफलमा    यहाँ कन्सर्ट गर्न सकिने त्यसको लागि मन्थलीको मौसम देखि विशेष चाडपर्व लगायतका परिवेशलाई ख्याल गरेर कार्यक्रम गर्न सकिने सुझावको रूपमा आफूहरूलाई सुझाव पाएको शर्माले बताए । ‘भन्ने बित्तिकै हुँदैन सबै परिस्थिति बुझेर भदौं देखि कात्तिक सम्म गर्न सकिने अवस्था पायौँ ।’

 

नगरप्रमुख श्रेष्ठसहितको टिमले पनि कार्यक्रम गर्न सकिने तर समय लगायत विविध पक्षको राम्रो तयारी गर्नु पर्ने सुझाव दिएको छ । नेपालयले हाल सम्म नेपालका ठुला सहरहरूसहित युरोपियन देशहरूमा समेत आफ्नो दमदार प्रस्तुति सहित लोक प्रिय बनेको छ । 

 

युवा पुस्तादेखि वयस्क र वृद्धवृद्धालाई समेत समेटिने गीत सङ्गीतबाट मन्त्र मुग्ध पार्ने सबैका प्रिय गायक अमृत गुरुङको प्रस्तुति रहने कन्सर्ट गर्न समग्र जिल्लाकै लागि फाइदा जनक हुने नेपालयको तर्क छ ।